बहुपक्षीयता र शान्तिका लागि कूटनीतिक दिवस आज विश्वका विभिन्न देशमा विविध कार्यक्रमका साथ मनाइँदै

बहुपक्षीयता र शान्तिका लागि कूटनीतिक दिवस आज विश्वका विभिन्न देशमा विविध कार्यक्रमका साथ मनाइँदै छ।

संयुक्त राष्ट्रसंघको आह्वानमा यो दिवस सन् २०१९ देखि मनाउन प्रारम्भ भएको हो। बहुपक्षीयता कम्तीमा तीन वा सोभन्दा बढी राष्ट्रबीचको सहकार्यलाई जनाउने भए पनि यसको सार केवल सङख्यात्मक नभई साझा मूल्य, मान्यता र नियममा आधारित सामूहिक राजनीतिक प्रतिबद्धतामा निहित रहेको मानिन्छ।

राष्ट्रसंघका अनुसार परामर्श, समावेशिता र ऐक्यबद्धता यसका आधारभूत सिद्धान्त हुन्। यसले समान अधिकार र दायित्वका आधारमा दिगो तथा प्रभावकारी सहकार्य सुनिश्चित गर्छ।

बहुपक्षीयता अन्तर्राष्ट्रिय प्रणालीको संगठन र सहकार्यको विधि दुवै भएकाले वर्तमान आजको परस्पर निर्भर विश्वमा यसको महत्त्व अझ बढेको छ।

एक सय ९३ राष्ट्र सदस्य तथा एक हजारभन्दा बढी गैरसरकारी संस्था र अन्तर्राष्ट्रिय संगठन पर्यवेक्षक रहेको संयुक्त राष्ट्रसंघ बहुपक्षीयताको प्रमुख मञ्चका रूपमा परिचित छ। सन् १९४५ मा स्थापना भएको यो विश्व संस्थाको मुख्य उद्देश्य अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा कायम गर्नु हो।