केपि कुमार जलन
पोखरा । विश्व संगीत दिवसको अवसरमा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, गण्डकी प्रदेश समितिको आयोजनामा सम्पन्न १५ औं बृहत् खुल्ला रक्तदान तथा विविध सांस्कृतिक कार्यक्रम–२०८३ भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरुङ प्रमुख अतिथिका रूपमा सहभागी भई कार्यक्रमको शोभा बढाउनुभएको थियो। साथै प्रतिष्ठानका पूर्व केन्द्रीय अध्यक्ष एवं संरक्षक प्राज्ञ प्रजापति पराजुली र पुरुषोत्तम न्यौपाने सहित केन्द्रीय तथा प्रदेश तहका विभिन्न पदाधिकारी, कलाकार, समाजसेवी तथा सांस्कृतिक क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा रक्तदानतर्फ उत्साहजनक सहभागिता देखिएको आयोजकले जनाएको छ। आयोजकका अनुसार उक्त दिन संकलित रगतको मात्रा पछिल्लो ६ महिनाकै उच्च रहेको छ। रक्तदानजस्तो पुण्य कार्यमा सहभागी हुने सम्पूर्ण रक्तदाताप्रति आयोजकले विशेष धन्यवाद व्यक्त गरेको छ।
कार्यक्रम सफल बनाउन नेपाल रेडक्रस सोसाइटी, जीके साउण्ड, अग्रता दाना भण्डार, विभिन्न कलाकार, सामाजिक संघसंस्था तथा सहयोगीदाताहरूले महत्वपूर्ण योगदान पुर्याएका थिए। साथै पोखरा लोकदोहोरी रेस्टुरेन्ट व्यवसायी संघ, गोरखा मिलन समाज पोखरा लगायत विभिन्न संस्थाको सहयोग र सहभागिताले कार्यक्रमलाई थप प्रभावकारी बनाएको आयोजकको भनाइ छ।
कार्यक्रम सम्पन्न पश्चात् आयोजक समितिले कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण अतिथि, कलाकार, सहयोगीदाता, स्वयंसेवक तथा कार्यसमितिका पदाधिकारी र सदस्यहरूप्रति हार्दिक आभार व्यक्त गरेको छ।
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान गण्डकी प्रदेश समितिले आगामी दिनमा पनि लोकसंस्कृतिको संरक्षण, प्रवर्द्धन तथा सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।


















