हरितालिका तीजको अवसरमा म्याग्दीमा ‘तीज उत्सव–२०८३’ हुँदै, सांस्कृतिक र मनोरञ्जनात्मक प्रस्तुतीले जम्ने

केपि कुमार जलन

म्याग्दी । हिन्दु नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा म्याग्दीमा विशेष सांस्कृतिक कार्यक्रम ‘तीज उत्सव–२०८३’ आयोजना हुने भएको छ।

धौलागिरी नाट्य समूह, म्याग्दीको आयोजनामा हुन लागेको उक्त कार्यक्रमले तीज पर्वको मौलिक संस्कृति, कला, मनोरञ्जन र सांस्कृतिक पहिचानलाई प्रवर्द्धन गर्ने उद्देश्य लिएको छ।
कार्यक्रम २०८३ भदौ २७ गते शनिबार बिहान १०:३० बजेदेखि जिल्ला समन्वय समितिको सभाहल, बेनी, म्याग्दीमा आयोजना हुने आयोजकले जनाएको छ।

तीजको रौनक, सांस्कृतिक प्रस्तुति तथा मनोरञ्जनले भरिपूर्ण हुने अपेक्षा गरिएको यस उत्सवमा स्थानीय कला तथा संस्कृतिप्रेमीहरूको उल्लेख्य सहभागिता रहने विश्वास गरिएको छ।
हरितालिका तीजलाई अझ उल्लासमय र स्मरणीय बनाउन आयोजना गरिएको ‘तीज उत्सव–२०८३’ ले म्याग्दीको सांस्कृतिक माहोललाई थप उत्साहपूर्ण बनाउने अपेक्षा गरिएको छ।