मानसिक स्वास्थ्य विकराल बन्दै गए पनि यो सरकारको प्राथमिकतामा परेको छैन ।
सर्वोच्च अदालतले प्रत्येक वर्ष हुने बजेट विनियोजनमा मानसिक स्वास्थ्य क्षेत्रमा रहेका समस्याको स्वरूप हेरी त्यसको समाधान गर्न संरचना, बजेट र मानवीय स्रोतमा गुणात्मक एवम् संख्यात्मक वृद्धि गर्दै लैजान आदेश दिएको थियो, तर कार्यान्वयनमा आउन सकेको छैन ।
२०८१ मङ्सिर १७ गते सर्वोच्चले मानसिक स्वास्थ्यको हकलाई कार्यान्वयन गर्ने पर्याप्त रणनीतिसमेत समेटी राष्ट्रिय मानसिक स्वास्थ्य नीति, २०५३ लाई परिमार्जन गरी नयाँ मानसिक स्वास्थ्य नीति जारी गर्नेदखि १२ बुँदे निर्देशनात्मक आदेश दिएको थियो ।
तर, सर्वोच्चको आदेशलाई सरकारले पूर्णतः पालना गरेको छैन ।
संघ तथा प्रदेशमातहत सबै अस्पतालहरूमा मनोचिकित्सक, मनोविद्, मनोचिकित्सा परिचारिका, मानसिक स्वास्थ्यसम्बन्धी सामाजिक कार्यकर्ता र साइकोथेरापिस्ट नियुक्त गरी मानसिक स्वास्थ्यको अन्तरङ्ग तथा बहिरङ्ग सेवा सुरुवात गर्न सरकारलाई निर्देशन दिइएको थियो । तर स्वास्थ्य मन्त्रालयले यो विषयलाई प्राथमिकता दिएको देखिँदैन ।
राष्ट्रिय मानवअधिकार आयोगले नेपालमा मानसिक रूपमा अस्वस्थ नागरिकको जीवन, स्वतन्त्रता र मर्यादा सुरक्षित हुन नसकेको भन्दै चिन्ता व्यक्त गरेको थियो । विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा शनिबार एक विज्ञप्ति जारी गर्दै आयोगले कानुन र कार्यक्रमहरू भए पनि मानसिक रोगबाट प्रभावित व्यक्तिहरूको अधिकार संरक्षण हुन नसकेको जनाएको थियो ।
मानसिक स्वास्थ्य समस्याको बढ्दो रोगको भारको अनुपातमा पर्याप्त बजेट विनियोजन र कार्यक्रमहरू सञ्चालन हुन नसक्दा समुदायस्तरसम्म यस सेवाको पहुँच पुग्न सकेको छैन । साथै, बालबालिका तथा किशोर–किशोरीहरूमा देखिने विविध मानसिक समस्याहरूलाई प्रभावकारी रूपमा सम्बोधन गर्न नसकिएको स्थिति छ भने मानसिक स्वास्थ्यको प्रवद्र्धन र रोकथामलाई केन्द्रमा राखेर ठोस कार्यक्रमहरू निर्माण तथा कार्यान्वयनमा ल्याउन अझै सकिएको छैन ।
विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०२३ मा विश्वभर करिब हरेक ७ जनामध्ये एक जना कुनै न कुनै मानसिक स्वास्थ्य अवस्थाबाट प्रभावित थिए । नेपालमा राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण २०२० अनुसार करिब १० प्रतिशत वयस्कले आफ्नो जीवनकालमा कुनै न कुनै मानसिक स्वास्थ्य समस्या अनुभव गरेका छन् ।
नेपालमा कुल जनसङ्ख्याको ४ प्रतिशत मानिस मानसिक समस्याबाट ग्रसित रहेको पाइएको छ । नेपालको राष्ट्रिय स्वास्थ्य सर्वेक्षण २०७७ का अनुसार कुल जनसङ्ख्या २ करोड ९० लाखको ४ प्रतिशत मानसिक रोगी रहेका छन् । यो समस्या दिनप्रतिदिन विकराल बन्दै गएको छ ।
तथ्याङ्क अनुसार नेपालमा हाल दर्ता भएका मनोचिकित्सकको संख्या करिब २७४ देखि ३०० को हाराहारीमा छ । हाल कुल जनसङ्ख्याको ३० प्रतिशतमा मानसिक समस्या देखिएको छ भने नसर्ने रोगहरूको कुल भारमध्ये १८ प्रतिशत हिस्सा मानसिक रोगले ओगटेको छ ।
यस्तै, मानसिक स्वास्थ्यको सहजीकरण र नियमनका लागि संघमा महाशाखा, प्रदेशमा शाखा र स्थानीय स्तरमा सम्पर्क व्यक्ति अविलम्ब व्यवस्था गर्न आदेश दिइएको थियो । यो आदेश कार्यान्वयनमा पनि स्वास्थ्य मन्त्रालय संवेदनशिल देखिँदैन ।














