सातामै चौबीस हजार भन्दा बढी ले घटयाे सुनको मूल्य, दुइलाख रुपैयाँ तोला पुग्ने अनुमान

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पछिल्लो एक सातामा मात्र सुन प्रतितोला साढे २४ हजार रुपैयाँले घटेको छ । यही मंसिर १ गते २ लाख ६७ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य ६ गतेसम्म निरन्तर ओरालो लागेर २ लाख ४२ हजार ६ सयमा कारोबार भएको छ । मंसिर १ गते र मंसिर ६ गते कारोबार भएको सुनको मूल्यसँग तुलना गर्दा ६ दिनमा प्रतितोला २४ हजार ६ सय रुपैयाँ घटेको हो ।

अन्तर्राष्ट्रिय भू–राजनीतिमा बढ्दो द्वन्द्वका कारण उकालो लागेको सुनको मूल्य पछिल्लो समय निरन्तर ओरालो लागेको छ । अमेरिकी फेडरल रिजर्भ बैंकको ब्याजदर बढाउने तयारी, इक्विटी बजारमा गिरावट र बेरोजगारी, भारतीय रुपैयाँसँग डलर कमजोर लगायत कारणले सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमा ओरालो लागेको हो ।

यसभन्दा अघि सुनको मूल्य निरन्तर उकालो लागेर ३ लाख ४९ हजार रुपैयाँसम्म पुगेको थियो । महासंघका अनुसार उच्च कारोबार मूल्य गत भदौ १८ गते भएको हो । योसँग मंसिर ६ को मूल्यलाई तुलना गर्दा पछिल्लो साढे ३ महिनामा ६२ हजार ३ सय रुपैयाँले गिरावट आएको छ । सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यका अनुसार सुनको मूल्य अझै तल झर्ने अनुमान छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर ओरालो लाग्न थालेपछि त्यसको असर नेपाली बजारमा पनि देखिएको हो ।

अन्तर्राष्ट्रिय बजारका पछिल्ला प्रक्षेपण अनुसार विश्व बजारमा सुनको मूल्य अझै घट्ने अनुमान गरिएको व्यवसायी शाक्यले बताए । ‘अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार २ सय डलरमा झर्‍यो र अहिलेकै विनिमय दर कायम रह्यो भने नेपालमा प्रतितोला करिब २५ हजार रुपैयाँसम्म मूल्य घट्न सक्छ,’ शाक्यले भने । कतिपय विश्लेषणमा ३ हजार डलरसम्म झर्ने अनुमान गरिएकाले नेपालमा अधिकतम घट्दा पनि प्रतितोला २ लाख रुपैयाँ आसपाससम्म आउन सक्ने र त्योभन्दा तल नझर्ने उनको अनुमान छ ।

पछिल्लो समय सुनको मूल्य ओरालो लाग्नुमा मुख्यतः पाँच वटा कारण रहेको व्यवसायी शाक्य बताउँछन् । उनका अनुसार अमेरिकी फेडरल रिजर्भ बैंकले ब्याजदर बढाउने तयारी, इक्विटी बजारमा गिरावट र बेरोजगारी, भारुसँग डलर कमजोर हुनु, भू–राजनीतिक संवाद र हर्मुज जलमार्गको अनिश्चितता र केही देशद्वारा सुन बिक्रीका कारण विश्व बजारमा सुनको मूल्य घटेको हो । अमेरिकी फेडरल रिजर्भ बैंकले ब्याजदर बढाउने तयारी गर्नु नै सुन घट्नुको प्रमुख कारण उनको भनाइ छ ।

डिसेम्बर ८ र ९ मा बस्ने बैठकले ब्याजदर ०.२५ देखि ०.५० प्रतिशतसम्म बढाउन सक्ने आकलन गरिएको उनले बताए । ब्याजदर बढ्दा लगानीकर्ताहरू सुनको लगानी झिकेर ब्याज आउने क्षेत्रतर्फ आकर्षित हुने भएकाले अहिलेदेखि नै सुनमा बिक्री चाप बढेको शाक्यको भनाइ छ । यस्तै, विश्वका सेयर तथा इक्विटी बजारहरू धराशायी बन्दै जानु र बेरोजगारी दर बढ्नुले पनि सुन बजारमा बिक्रीको चाप बढाएको उनले बताए । अन्तर्राष्ट्रिय स्तरमा डलर बलियो भनिए पनि एसियाली बजारमा भारतीय रुपैयाँको तुलनामा डलर कमजोर भएकाले पनि सुनको मूल्य घटेको उनको तर्क छ ।

केही समयअघि १५४ रुपैयाँसम्म पुगेको डलरको भाउ घटेर १४९ रुपैयाँ ६० पैसा आसपासमा झरेको छ । डलर तिरेर आयात गर्नुपर्ने सुनका लागि डलर नै सस्तिएपछि लागत कम भई भाउ घट्न मद्दत पुगेको हो । यसपटक भू–राजनीतिक तनावले सुनको भाउ उचाल्न खासै असर गरेको छैन । रुस, चीन र अमेरिकाका शीर्ष शक्तिहरूबीच भएका संवादहरू आर्थिकभन्दा राजनीतिक मुद्दामा मात्र सीमित छन् । यस्तै, हर्मुज जलमार्गको अवस्थामा सुधार नआउँदा बजारमा अनिश्चितता बढेकाले लगानीकर्ताले सुन बिक्री गर्न थालेका छन् । रुस लगायतका केही देशहरूले आफूसँग रहेको सुन बिक्रीमा ल्याएकाले पनि अन्तर्राष्ट्रिय बजारमा आपूर्ति बढी मूल्य घट्न सहयोग पुगेको हो ।

बजारमा सुनको अभाव
सुनको मूल्य ओरालो लागेपछि पछिल्लो समय नेपाली बजारमा सुनको माग बढे पनि अभाव रहेको पूर्वअध्यक्ष शाक्यले बताए । तिहार अघिसम्म सुनको माग खासै नभए पनि अहिले बिहेको लगन सुरु भएकाले बजारमा माग ह्वात्तै बढेको उनले जानकारी दिए । तर, बैंकहरूले सुन आयात नगरिदिँदा बजारमा सुनको अभाव देखिएको उनको भनाइ छ । उनका अनुसार अहिले व्यवसायीसँग मौज्दातमा सुन छैन ।

बैंकहरूले सोमबारदेखि बजारमा सुन आउने जानकारी दिएका छन् । ‘सुन नहुँदा बजारको अवस्था बेहाल छ,’ शाक्यले भने, ‘व्यवसायीहरूले नयाँ अर्डर लिन सकेका छैनन्, पसलमा पहिले नै बनेर रहेका गहनामात्र बिक्री गरिरहेका छन् ।’ लगनको समय भएकाले बैंकहरूले समयमै सुनको आपूर्ति सहज बनाइदिए सुनको मूल्य घटेको समयमा व्यापार उत्साजनक हुने उनले बताए । तर, सुन आपूर्ति हुन नसके बजारमा कृत्रिम अभाव सिर्जना भई कालोबजारी बढ्ने जोखिम रहेको उनको भनाइ छ ।