बागलुङ। बागलुङको निसीखोलास्थित श्री प्रभा माध्यमिक विद्यालयमा आधुनिक, स्मार्ट, प्रविधिमैत्री, सीपमूलक तथा व्यावहारिक शिक्षा सञ्चालन गर्ने उद्देश्यले आयोजित ‘श्रीमद्भागवत धनधान्याञ्चल सप्ताह ज्ञान महायज्ञ–२०८३’ अभियानलाई गण्डकी प्रदेश सभा सदस्य माननीय दिलमाया पौवी र समाजसेवी सोमबहादुर पौवी (यमु) ले आर्थिक सहयोग गरेका छन्।
विद्यालयको शैक्षिक तथा भौतिक पूर्वाधार विकासका लागि दुवैको तर्फबाट ५५ हजार ५५५ रुपैयाँ सहयोग प्राप्त भएको विद्यालय परिवारले जनाएको छ।
विद्यालयमा गुणस्तरीय, आधुनिक तथा प्रविधिमैत्री शिक्षा विस्तार गर्ने लक्ष्यसहित सञ्चालन गरिएको महायज्ञ अभियानमा प्राप्त सहयोगले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि तथा आवश्यक पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुग्ने विद्यालयको विश्वास छ।
शिक्षामा गरिएको लगानीले भावी पुस्ताको भविष्य निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने भन्दै विद्यालयले सहयोगदाता पौवीद्वयप्रति आभार व्यक्त गरेको छ।
विद्यालयले महायज्ञ अभियानलाई सफल बनाउन सम्पूर्ण शिक्षाप्रेमी, समाजसेवी, अभिभावक तथा शुभचिन्तकहरूलाई सहयोग र सहभागिताका लागि आग्रहसमेत गरेको छ।



















