मन्त्रिपरिषद्को वरीयताक्रम परिवर्तन, स्वर्णिम वाग्ले दोस्रो र सोबिता गौतम तेस्रो स्थानमा

काठमाडौं। सरकारले मन्त्रिपरिषद्का सदस्यहरूको वरीयताक्रममा परिवर्तन गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार मन्त्रिपरिषद्को नयाँ वरीयताक्रम स्वीकृत गरेका हुन्।

नयाँ व्यवस्थाअनुसार अर्थमन्त्री डा. स्वर्णिम वाग्ले प्रधानमन्त्रीपछि दोस्रो स्थानमा रहेका छन्। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम तेस्रो स्थानमा पुगेकी छन्। यसअघि उनी सातौँ स्थानमा थिइन्।

यसैगरी परराष्ट्रमन्त्री शिशिर खनाल चौथो र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ पाँचौँ स्थानमा रहेका छन्। गृहमन्त्री सुदन गुरुङ छैटौँ स्थानमा छन्।

राष्ट्रपति कार्यालयका अनुसार नेपालको संविधानको धारा ७६ को उपधारा ९ अनुसार गठित मन्त्रिपरिषद्को वरीयताक्रम प्रधानमन्त्रीको सिफारिसमा संशोधन गरिएको हो। नयाँ व्यवस्था बिहीबारदेखि लागू भएको छ।