जेठ २० :मकवानपुरमा अर्काको नाममा परीक्षा दिने दुईजना पक्राउ परेका छन् । हेटौंडा उपमहानगरपालिका–१ स्थित स्कुलमा सञ्चालन भइरहेको लोकसेवा आयोगको प्रशासन लेखा सहायक चौथो तहको परीक्षामा अर्काको नाममा परीक्षा दिइरहेको अवस्थामा एकजना पक्राउ परेको प्रहरीले जनाएको हो ।
पक्राउ पर्नेमा कास्की पोखरा महानगरपालिका–२ बस्ने ४२ वर्षीय दीपेन्द्र प्रसाद बास्ताकोटी छन् । महोत्तरी पोखभिण्डा बस्ने अभय कुमार यादवको ठाउँमा बास्ताकोटीले परीक्षा दिइरहेको अवस्थामा फेला परेपछि उनलाई पक्राउ गरिएको हो ।
यस्तै, हेटौंडा उपमहानगरपालिका–११ स्थित यातायात व्यवस्था कार्यालय हेटौंडाले लिइरहेको मोटरसाइकलको सवारी चालक अनुमति पत्रको परीक्षामा अर्काको नाममा परीक्षा दिइरहेको अवस्थामा मकवानपुर बकैया गाउँपालिका–७ बस्ने २० वर्षीय सन्तोष गौतम पक्राउ परेका छन् ।
सोही गाउँपालिका–७ बस्ने टुकनाथ गौतमको ठाउँमा उनकै छोरा सन्तोषले परीक्षा दिइरहेको अवस्थामा फेला पारी यातायात कार्यालयले प्रहरीलाई खबर गरेपछि उनलाई पक्राउ गरिएको हो ।पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।











