भारतमा जुलाई १८ मा राष्ट्रपतीय निर्वाचन हुने

जेठ २६ : भारतमा १६औं राष्ट्रपति चयनका लागि यही जुलाई १८ मा निर्वाचन हुने भएको छ । मतगणना भने जुलाई २१ देखि मात्रै हुने बताइएको छ ।

प्रमुख निर्वाचन आयुक्त राजिव कुमारले पत्रकार सम्मेलनमा  नयाँ राष्ट्रपति चयनका लागि प्रक्रिया सुरु भइसकेको बताएका छन् ।

भारतका वर्तमान राष्ट्रपति रामनाथ कोभिन्दको कार्यकाल यही जुलाई २४ मा सकिने भएकाले नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन हुन लागेको हो ।

राष्ट्रपति चयनका लागि एक सांसदको मतभार ७०० हुने संवैधानिक व्यवस्था रहेको छ । मतदाता अन्तर्गत पर्ने व्यक्ति निलम्बित भएको वा कारागारमा छ भने उनीहरूलाई प्रक्रिया पूरा गरेर मतदान गर्न पाइने व्यवस्था छ ।

राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता यही जुन २९ मा गर्नुपर्ने गरी निर्वाचन तालिका बनाइएको निर्वाचन आयोगले जनाएको छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन भने जुलाई २ मा मात्रै हुने भएको छ ।