सुदूरपश्चिमसँग प्रदेश १ पराजित हुँदा आर्मी सेमिफाइनलमा

माघ २ : त्रिभुवन आर्मी क्लबको आइतबार कुनै खेल थिएन । तर आफ्नै क्लबका पूर्वखेलाडी राजु रिजालले उत्कृष्ट ब्याटिङ गर्दा सुदूरपश्चिमले प्रदेश १ लाई ७ विकेटले पराजित गरेपछि आर्मी समूह ए को उपविजेताको रुपमा प्रधानमन्त्री कप पुरुष टी – २० राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ ।

आर्मीले अब सेमिफाइनलमा समूह बी को विजेता एपीएफसँग प्रतिस्पर्धा गर्नेछ । अर्को सेमिफाइनल समूह ए को विजेता नेपाल पुलिस क्लब र समूह बी को उपविजेता बागमती प्रदेशबीच हुनेछ ।

यसै प्रतियोगिता अघि सुदूरपश्चिमको टिममा सामेल भएका राजुले प्रतियोगिताको अन्तिम खेलमा मात्र खेले । जहाँ उनले ५२ बल खेल्दै ९ चौका र ४ छक्का मद्दतमा ६८ रन बनाएपछि प्रदेश १ ले दिएको १५९ रनको लक्ष्य सुदूरपश्चिमले १९.१ ओभर खेल्दै ३ विकेट गुमाएर पूरा गर्‍यो ।

राजुले पहिलो विकेटका लागि कप्तान सन्तोष भट्टसँग ९८ रनको साझेदारी गरेका थिए । अर्धशतकबाट २ रनले चुकेका सन्तोषले ३९ बल खेल्दै ४ चौका र ३ छक्का मद्दतमा ४८ रन जोडे । त्यसपछि अर्जुन साउदले ११ बल खेल्दै ३ चौका र १ छक्का मद्दतमा अविजित २६ रन जोड्दै सुदूरपश्चिमको जित पक्का गरे ।

बलिङमा प्रदेश १ का फिर्दोस अन्सारी, मुकुन्द यादव र कमल खत्रीले समान १ विकेट लिए ।

तयसअघि टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले ९ विकेट गुमाएर १५८ रन बनाएको थियो । मुकुन्द यादवले सर्वाधिक ३४ रन बनाएको प्रदेश १ को इनिङ्समा सोनु अन्सारीले ३१ तथा कार्यवाहक कप्तान अंकित सुवेदी र मिनास थापाले समान २३ रन जोडे ।