सन् २०२६ को फिफा विश्वकप अन्तर्गत समूह चरणका खेलहरू जारी रहँदा विश्व फुटबलमा धेरै उतारचढाव र नयाँ कीर्तिमानहरू बनेका छन्। यसै क्रममा सेनेगलका इब्राहिम म्बाए र स्पेनका लामिने यामालले सनसनीपूर्ण गोल गर्दै विश्वकप इतिहासकै सबैभन्दा कम उमेरमा गोल गर्ने शीर्ष १० खेलाडीहरूको सूचीमा आफ्नो नाम सुरक्षित गरेका छन्।
विश्वकप इतिहासमा ब्राजिलका महान फुटबलर पेले अझै पनि सबैभन्दा कान्छा गोलकर्ताको रूपमा शीर्ष स्थानमा छन्। उनले सन् १९५८ को विश्वकपमा वेल्सविरुद्ध मात्र १७ वर्ष २३९ दिनको उमेरमा खेलको ६६ औँ मिनेटमा गोल गरेका थिए, जुन कीर्तिमान आजसम्म कसैले तोड्न सकेको छैन।
इतिहासको दोस्रो स्थानमा मेक्सिकोका मानुएल रोसास रहेका छन्, जसले सन् १९३० को पहिलो विश्वकपमा अर्जेन्टिनाविरुद्ध १८ वर्ष ९३ दिनको उमेरमा पेनाल्टी मार्फत गोल गरेका थिए। तेस्रो स्थानमा स्पेनका मिडफिल्डर गाभी रहेका छन्। उनले सन् २०२२ को कतार विश्वकपमा कोस्टारिकाविरुद्ध १८ वर्ष ११० दिनको उमेरमा उत्कृष्ट गोल गरेका थिए।

















