भन्सार छलेर ल्या‍इएको करोडको मदिरासहित चार जना पक्राउ

माघ १६ : भन्सार छलेर ल्याइएको रेड लेबल, एब्सोल्युट भोड्का र ब्ल्याक लेबल बेचबिखन गरेको आरोपमा महानगरीय अपराध महाशाखाले काठमाडौंबाट चार जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा नेपाली सेनाका पूर्व हवल्दारदेखि भारतीय ब्रान्डका कपडा बिइङ ह्युमनका नेपाली बिक्रेतासमेत छन्।

भन्सार छलेको मदिरा बेचेको आरोपमा ३९ वर्षीय सन्तोषचन्द्र बाख्रेल, ३० वर्षका सैलेश पन्त, २८ वर्षका रविन पाख्रिन र ४० वर्षका नारायणप्रसाद घिमिरे पक्राउ परेका हुन्। घिमिरे नेपाली सेनाका पूर्वहवल्दार हुन्। सन्तोष दरबारमार्गस्थित कपडा सोरुम बिइङ ह्युमनका सञ्चालक हुन्।

उनीहरुले सीतापाइलामा सञ्चालन गरेको मदिरा गोदाममा छापा मारेर १ करोड ४१ लाख ६० हजार मूल्य बराबरको मदिरा बरामद गरिएको महाशाखाले बताएको छ।

२९५ कार्टुन एब्सोल्युट भोड्का, रेड लेबल र ब्ल्याक लेबल बरामद गरिएको छ। आरोपितले यी मदिरा भारतबाट ल्याएको बताएका छन्, महाशाखाका प्रवक्ता एसपी कृष्णप्रसाद कोइरालाले भने।

महाशाखाले करिब ३ साताअघि नक्कली मदिरा कारोबार हुने गरेको सुराक पाएपछि अपरेसन सुरु गरेको थियो। सादा पोशाकका प्रहरीले पार्टीका लागि मदिरा आवश्यक परेको भनेर अर्डर गरेका थिए र केही रकम एडभान्स दिएर आरोपितहरुको निगरानी सुरु गरेका थिए।