प्रधानमन्त्रीसँग अन्तराष्ट्रिय रेडक्रसका महासचिवको भेट

माघ २० : प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल भ्रमणमा रहनुभएका रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तरराष्ट्रिय महासङ्घ (आइएफआरसी) का महासचिव जगन्नाथ चापागाईँले भेटवार्ता गर्नुभएको छ ।

भेटमा उहाँहरुबीच मानवीय सेवा र रेडक्रस कानुनका विषयमा कुराकानी भएको बताइएको छ । यसैगरी सभामुख अग्निप्रसाद सापकोटा र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीसँग पनि महासचिव चापागाईँले अलग–अलग भेटवार्ता गर्नुभएको थियो । ती भेटवार्तामा आफूले नेपालमा रेडक्रस कानुन बनाउन आग्रह गरेको महाचिव चापागाईँले जानकारी दिनुभयो ।

परराष्ट्रमन्त्री डा नारायण खड्कासँग महासचिव चापागाईँले बुधबार भेटवार्ता गर्नुभएको थियो । आपत्कालीन मानवीय सेवामा तल्लीन सर्वोच्च परोपकारी संस्था आइएफआरसीका प्रथम नेपाली महासचिव चापागाईँ मङ्गलबार साँझ यहाँ आइपुग्नुभएको हो ।

नेपाल भ्रमणका क्रममा उहाँले यहाँस्थित आइएफआरसी र नेपाल रेडक्रसका गतिविधिका बारेमा जानकारी लिने क्रम जारी राख्नुभएको छ । उहाँले भन्नुभयो, “नेपाल रेडक्रसमा देखिएका समस्या मिलेर समाधान खोज्नुपर्छ । अगामी दिनमा रेडक्रलाई अझ व्यवस्थितरूपमा सञ्चालन गर्न रेडक्रस कानुन जारी गर्नु आवश्यक छ । यसका लागि नेपाल सरकारलाई आइएफआरसीले आवश्यक सहयोग पु¥याउँछ ।”

विगत २५ वर्षदेखि रेडक्रस अभियानमा निरन्तर क्रियाशील ५२ वर्षीय उहाँले १ फेब्रुअरी २०२० देखि आइएफआरसीको महासचिवको जिम्मेवारी सम्हाल्नुभएको थियो । सो जिम्मेवारी सम्हालेपछि उहाँको यो पहिलो नेपाल भ्रमण रहेको बताइएको छ । विश्वका १९२ देश आइएफआरसीका सदस्य छन् । आइएफआरसीको ३ डिसेम्बर २०१९ मा बसेको विशेष गभर्निङ बोर्ड बैठकले एशियाबाटै पहिलोपटक उहाँलाई बहुमतद्वारा सो पदमा निर्वाचित गरेको थियो । बोर्डमा विश्वका शक्तिशाली २९ देश छन् ।

आइएफआरसीमा आबद्ध देशीय रेडक्रस र रेडक्रिसेन्ट सोसाइटीमा आबद्ध स्वयंसेवक तथा कर्मचारी पछिल्ला दिनमा कोभिड–१९ प्रतिकार्यमा अग्रपङ्क्तिमा जुटिरहेका छन् । आइएफआरसीले आफ्नो कार्यादेशअनुसार जलवायु परिवर्तनले निम्त्याएका र प्राकृतिक तथा मानव सिर्जित विपद् न्यूनीकरण तथा पीडितलाई महामारीका बीचमा पनि सहयोग निरन्तर जारी राखेको छ । महासचिव चापागाईँले मानवीय सेवाका क्षेत्रमा पु¥याउनुभएको काम तथा नेतृत्वले आइएफआरसीका सदस्य देशमा प्रशंसा कमाएको छ ।