‘न बिर्सें तिमीलाई’गीतको को नयाँ भर्सनबारे गायीका अञ्जु पन्तको गुनासो के भनिन रचनालाई

माघ२६ः सुपरहिट नेपाली गजल  ‘न बिर्सें तिमीलाई न पाए तिमीलाई ‘’ बोलको को नयाँ भर्सनलाई लिएर सामाजीक संजालमा ब्यापक विवाद भएको छ । विवाद चुलिदै गएपछि गायिका अञ्जु पन्तले मुख खोलेकी छन् । रचना रिमालको स्वरमा पुनः रेकर्ड गरिएको गीतप्रति गायिका पन्तले असन्तुष्टी देखाएकी छन्।

हाल अमेरिकामा रहेकी गायीका अञ्जुले सामाजिक सञ्जालमार्फत आफ्नो असन्तुष्टि सार्वजनिक गरेकी हुन् । फेसबुकमा उनले लेखेकी छन्, ‘उही संगीत, उही एरेन्जमेन्ट, नयाँ भर्सनमा ओरिजिनल गायक–गायिकाको नाम उल्लेख नगरी अफिसियल भनेर सार्वजनिक हुनु दुःखद र अन्यायपूर्ण कुरा हो,’ ।

उनका अनुसार यो गजल नयाँ एरेन्जमा उनकै आवाजमा रेकर्ड गर्ने तयारी गरिएको थियो । सोही अनुसार एरेन्जर महाराज थापाले गरेको नयाँ एरेन्ज आफूलाई पठाइएको र समय मिलाएर पुनः रेकर्ड गर्ने योजना रहेको उनले बताएकी छन् ।

अहिले नयाँ भर्सनमा गायिका रचना रिमालको स्वरमा रेकर्ड भएछ । मेरी छोरी समानकी रचना नानु लगायत सबै नवआगन्तुक कलाकारप्रति सधैं स्वागत, आशिर्वाद र धेरै माया छ,’ उनले अघि लेखेकी छन्।

यस्तो छ उनको स्ट्याटस

मेरा सम्पूर्ण श्रोता,दर्शक तथा शुभचिन्तकमा अभिवादन
भर्खरै पुनःरेकर्ड भएर युट्युवमा सार्वजानिक भएको न विर्षेँ तिमीलाई न पाएँ तिमीलाई गजलको नयाँ भर्सन आएको खवर थाहा पाएँ । यसपछि धेरै संगीतकर्मी, सञ्चारकर्मी तथा मलाई माया गर्ने शुभचिन्तकहरुले जिज्ञासा र चिन्ता ब्यक्त गर्नुभएको पाएँ । हाल म काम बिशेषले विदेशमा भएको कारणले तुरुन्तै प्रतिक्रिया जनाउन सकिन यसप्रति क्षमा प्रार्थी छु ।
यो गजल सर्जक विपिन किरणको शब्द, संगीतकार महेश खड्काको संगीत, किरण कँडेलको एरेन्ज रहेको साथै शम्भु तन्डुकारले रेकर्डिङ र महेश्वर राजभण्डारीले मिक्सिङ गर्नुभएको थियो भने यो गजलमा मैले आवाज दिएकी थिएँ । नेपाली सांगीतिक इतिहासमा अति नै लोकप्रिय जन–जनको मन मुटुमा बस्न सफल यो गजल पछि मेल आवाजमा गायक जगदिश समालले पनि गाउनुभयो ।
आजसम्म पनि उत्तिकै सर्वाधिक लोकप्रिय रहेको उक्त गजललाई नयाँ गायक गायिकालाई फरक भर्सनमा गाउनु आवश्यक थियो कि थिएन त्यो विषयमा मेरो केही भन्नु छैन । केही समयअघि विपिन किरण भाईले यो गजलको नयाँ एरेन्जमा मेरो आवाजमा नै रिरेकर्ड गर्ने भन्नु भएको थियो र सोही अनुसार एरेन्जर महाराज थापाले गर्नुभएको नयाँ एरेन्ज पनि मलाई पठाउनु भएको थियो र हामी समयअनुकुल मिलाएर पुनः रेकर्ड गर्ने योजनामा थियौ । यसैक्रममा उहाँले कभरको रुपमा किड्स भर्सन नयाँ भाइ बहिनीहरुलाई गाउन दिने कुरा मसँग सोध्नुभएको थियो र मैले खुशीसाथ हुन्छ भनेकी थिएँ ।
अहिले नयाँ भर्सनमा गायिका रचना रिमालको स्वरमा रेकर्ड भएछ । मेरी छोरी समान कि रचना नानु लगायत सबै नवआगन्तुक कलाकारप्रति सधैँ स्वागत, आशिर्वाद र धेरै माया छ र रहिरहने छ ।
उही संगीत उही एरेन्जमेन्ट नयाँ भर्सनमा ओरिजीनल गायक गायिकाको नाम समेत उल्लेख नगरी, अफिसियल भनेर सार्वजानिक हुनु चाँही दुखद र अन्यायपूर्ण कुरा हो । के र कुन उद्देश्यका लागि यस्तो भयो, मलाइ थाहा भएन । म एक ब्यक्तिको कुरा भन्दा पनि यो चलनले भोलीका दिनमा संगीत र कलाकारलाई दिने सम्मान र आदरको संस्कार नै पो भुल्न लागिरहेका छैनौ भन्ने चिन्ता लागेको छ । आशा छ सम्बन्धित पक्षले यो विषयलाई अनावश्यक विवाद र चर्चा गरिरहनु भन्दा दर्शक श्रोताको माग अनुसार समाधानको उपाय निकाल्नु हुनेछ । भविश्यमा कोही पनि कलाकार अपमानित र अन्यायमा परेको अनुभुति गर्ने दिन कहिल्यै नआओस् ।
मेरा लाखौँ सहकर्मी, श्रोता, दर्शकहरुबाट पाएको माया र सम्मानप्रति सदैब आभार ब्यक्त गर्दछु ।

अन्जु पन्त
२६ माघ २०७८