माघ २६ : जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले किसान आन्दोलनको माग सम्बोधन नभए स्थानीय निर्वाचनमा अवरोध गर्ने चेतावनी दिएका छन् ।
आज (बुधबार) वीरगन्जमा आयोजित पत्रकार सम्मेलनमा उनले किसान आन्दोलनको माग सम्बोधन नभई स्थानीय तह निर्वाचनमा अबरोधन गर्ने बताएका हुन् ।
‘सरकारले पहिला किसान आन्दोलनको माग सम्बोधन होस् अनि मात्र यहाँ स्थानीय तहको निर्वाचनको परिकल्पना गरौं,’ राउतले भने, ‘ माग सम्बोधन नभए अरु ठाउँमा त भन्न सकिन्नँ तर झापादेखि कैलाली कञ्चनपुरसम्म स्थानीय निर्वाचनमा हामी अवरोध गर्नेछौं,’ उनले भने ।
जनमत पार्टी निर्वाचन विरोधी नभएको बताउँदै राउतले भने, ‘हामी निर्वाचनमा जान आतुर छौं । निर्वाचनमा जानु अगाडि सरकारले कमसेकम किसान आन्दोलनको माग सम्बोधन गर्ने पहल थालिएको देखिनु पर्यो । किनकि एकैदिनमा यो समस्या समाधान हुने होइन,’ उनले भने ।
अर्को चरणको किसान आन्दोलन फागुन १ गतेबाट घोषणा हुने पत्रकार सम्मेलनमा अध्यक्ष राउतले बताए । मौसमको खराबीका कारण राजमार्ग केन्द्रीत आन्दोलन ग्रामीण क्षेत्रमा सारिएको बताउँदै उनले फागुनबाट सशक्त कार्यक्रम आउने जानकारी दिए ।