लिगबाट हाटबजार हटाउन थालियो, रेल चलाउने तयारी अन्तिम चरणमा

माघ २५ः धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सेवा सञ्चालन हुने निश्चित भएपछि नेपाल रेल्वे कम्पनीले रेलको लिगमा अव्यवस्थित रूपमा लाग्दै आएको हाटबजार लाई हटाउन सुरु गरेको छ ।

आउँदो महिनादेखि रेल सेवा सञ्चालनको तयारी गरेको नेपाल रेल्वे कम्पनीले जनकपुरधाम उपमहानगरपालिका १ सीता चोकमा रेल्वे लिकमा व्यापारीले लगाउँदै आएको दैनिक हाटबजार तत्काल हटाउन सुरु गरेको हो । जनकपुरधामसहित ठाउँ–ठाउँमा रेल्वे लिगमै तरकारी हाटबजार लगाउने गरेका कारण रेल सञ्चालनमा समस्या हुने भएकाले लिगबाट हाटबजार हटाउने अभियान सुरु गरेको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले बताएका छन।

‘रेल्वे लिगमै हाटबजार लाग्दै आएको छ रेल नचल्ने भएको कारण त्यसो हुनु उचित थियो होला तर , हामीलाई रेल सञ्चालनको तयारीमा जुतेको हुदा अब भने समस्या भइरहेको छ’, महाप्रबन्धक झाले भन्नुभयो, ‘हाटबजार रेल्वे लिगबाट अन्यत्र सार्ने विषयमा यहाँका जनप्रतिनिधि, व्यापारी र स्थानीयवासीसँग छलफल गरेर वैकल्पिक ठाउँको खोजीसमेत भइरहेको छ ।

खरिद गरेर पनि लामो समयदेखि सञ्चालन हुन नसकेका दुई रेल सेट नेपाल रेल्वे कम्पनीले आउँदो फागुन १ गतेदेखि दैनिक जयनगरदेखि कुर्थासम्म ड्राई (विना यात्रु) सञ्चालन गर्ने तयारी गरेको छ । ‘हामीले आउँदो महिनाको पहिलो वा दोस्रो हप्तामा नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा जयनगर–कुर्था रेल सेवाको उद्घाटन गर्ने तयारी गरिरहेका छौँ’, महाप्रबन्धक झाले भन्नुभयो, ‘फागुन १ गतेदेखि उद्घाटन नहुँदासम्म विना यात्रु प्रत्येक दिन एक पटक जयनगरबाट कुर्था र कुर्थाबाट जयनगरसम्म रेल चलाउँछौँ, उद्घाटन भएपछि टिकट काटेर यात्रुसहित नियमित रेल सेवा सञ्चालन गर्ने तयारीमा हामी छौँ ।’

२०७७ असोज २ गते भारतबाट ८४ करोड ६५ लाख रुपैयाँमा खरिद गरिएका दुई सेट रेल जयनगरबाट जनकपुर ल्याएर धनुषाको जनकनन्दनी गाउँपालिकाको इनरुवामा पार्किङ गरी त्रिपाल ओढाएर राखिएको छ । लामो समयदेखि त्रिपालमुनि थन्किएका रेलको गएको पुस २४ गते जयनगरदेखि कुर्थासम्म परीक्षण गरिएको थियो ।