खराब मौसमका कारण सुकेटार विमानस्थलमा एक सातादेखि उडान अवरुद्ध

माघ २६: ताप्लेजुङमा भारी हिमपात र प्रतिकूल मौसमका कारण सुकेटार विमानस्थलमा एक सातादेखि उडान अवरुद्ध भएको छ । विमानस्थलमा हिमपात र बाक्लो हुस्सुसहित धुम्मिएर मौसम प्रतिकूल भएसँगै उडान निरन्तर अवरुद्ध हुदै आएको छ ।

यसअघि गएको शुक्रबार र सोमबार उडान पनि हिमपातका कारण अवरुद्ध बनेको थियो। आज मौसम नखुलेका कारण उडान रद्द भएको नेपाल वायु सेवा निगमका ताप्लेजुङ स्टेसन इन्चार्ज लोकेन्द्र लिम्बूले बताए ।

लिम्बूका अनुसार गएको शुक्रबार र सोमबार विमानस्थलमा भारी हिउँ थुप्रिएपछि उडान अवरुद्ध बनेको थियो । आज उडान अवरुद्ध बनेपछि काठमाडौँका लागि टिकट लिएका १४ जना यात्रु रोकिएका छन् ।

काठमाडौँदेखि ताप्लेजुङ आउन लागेका १२ जना यात्रु पनि उतै रोकिएका स्टेसन इन्चार्ज लिम्बूले बताए । सुकेटारमा हिमपातसँगै प्रतिकूल मौसमका कारण सुकेटार विमानस्थलमा पटक–पटक उडान अवरुद्ध हुँदै आएको नेपाल वायु सेवा निगमका ताप्लेजुङले जनाएको छ ।

निगमले सुकेटार विमानस्थलमा प्रत्येक साताको सोमबार, बुधबार र शुक्रबार उडान सञ्चालन गर्दै आएको छ । बाक्लो हुस्सुसहित मौसम धुम्मिएकाले चिसोका कारण जिल्लाको जनजीवनसमेत प्रभावित बनेको छ ।