रुस र युक्रेनबीच सोमबार पुनः शान्तिवार्ता हुने, कुटनीतिक पहलमा अमेरिकाका राष्ट्रपति बाइडेन

चैत ७ : रुस र युक्रेनबीच पुनः शान्तिवार्ता हुने भएको छ । रुसी र युक्रेनी वार्ताकारबीच भर्चुअल रुपमा वार्ता हुने युक्रेनका अधिकारीलाई उदृत गर्दै अलजजिराले जनाएको छ । द्वन्द्व अन्त्य गर्न अनौपचारिक रुपमा विज्ञ समूहबीच निरन्तर छलफल भइरहेको छ । रूसले युक्रेनमाथि सैन्य हमला गरेको चौंथौ हप्ताभित्र पटक पटक शान्तिवार्ता भइरहेका छन् । रुसको निरन्तर आक्रमणका बिच युद्ध अन्त्यका लागि विभिन्न कुटनीतिक पहल पनि जारी रहेको छ ।

यसैबिच अमेरिकी राष्ट्रपति जो बाइडेनले नेटो र ईयूका सहयोगीहरूसँग भेट गरेपछि शुक्रबार पोल्याण्डको भ्रमण गर्ने ह्वाइट हाउसले जनाएको छ । युक्रेनमा जारी युद्धको मानवीय प्रतिक्रियाबारे छलफल गर्न बाइडेनले पोल्याण्डका राष्ट्रपति एन्ड्रेज डुडासँग वार्सामा भेट गर्नेछन् । सोमबार बाइडेनले फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन, जर्मन चान्सलर ओलाफ स्कोल्ज, इटालीका प्रधानमन्त्री मारियो ड्राघी र बेलायतका प्रधानमन्त्री बोरिस जोनसनसँग फोन–वार्ता गर्ने कार्यक्रम रहेको छ । बाइडेनले आफ्नो भ्रमणका क्रममा युक्रेन भ्रमण गर्ने कुनै योजना नभएको ह्वाइट हाउसले स्पष्ट पारेको छ ।