जातीय विभेद र छुवाछूत मानव समाजको कलङ्क : प्रधानमन्त्री देउवा

चैत ७ : प्रधानमन्त्री शेरबहादुर देउवाले जातीय विभेद तथा छुवाछूत मानव समाजको कलङ्क भएको बताएका छन् । प्रधानमन्त्रीले ५७ औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको अवसरमा सोमबार जारी शुभकामना सन्देशमा सो कुरा उल्लेख छ । यो दिवस हरेक वर्षको २१ मार्चमा मनाउने गरिन्छ । प्रधानमन्त्री देउवाले जातीय विभेद उन्मूलनका लागि सङ्घर्ष गर्नुहुने सबै अधिकारकर्मी, योद्धा तथा अग्रजहरूप्रति हार्दिक सम्मान व्यक्त गरेका छन् ।

करिब २४ वर्षअगाडि प्रधानमन्त्री देउवा नेतृत्वको सरकारले २०५४ असोज १५ गते उपेक्षित, उत्पीडित, दलित वर्ग उत्थान विकास समिति र मिति २०५८ साल साउन ३२ गते राष्ट्रिय दलित आयोग गठन भएको थियो । यसै क्रममा २०६३ साल जेठ २१ गते नेपाललाई छुवाछूत मुक्त राष्ट्र घोषणा गरेको कुरासमेत सम्झन लायक रहेको सन्देशमा उल्लेख छ । नेपालको संविधानले सबै नागरिकलाई स्वतन्त्रता र समानताको हक सुनिश्चित गरी छुवाछूत तथा भेदभावविरुद्धको हकलाई मौलिक हकका रूपमा प्रत्याभूत गरेको छ ।

आज दलित र बहिष्करणमा परेका समुदायको हक अधिकार संरक्षण र सम्बद्र्धनका लागि राष्ट्रिय दलित आयोग र समावेशी आयोगजस्ता छुट्टै स्वतन्त्र र अधिकारसम्पन्न संवैधानिक निकायको व्यवस्था भइसकेको छ । साथै, दलित र बहिष्करणमा परेकालाई राज्यको सबै क्षेत्रमा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न आरक्षण र सकारात्मक विभेद लगायतका विभिन्न व्यवस्था गरिएको छ ।

यी कानुनी व्यवस्था तथा संरचनालाई थप प्रभावकारी बनाउँदै यस वर्गभित्र पनि सीमान्तीकृत र विपन्न समूहलाई बढी लाभ पु–याउने गरी कार्य गर्न प्रधानमन्त्रीले सबैमा आग्रह गरेका छन् । सन्देशमा प्रधानमन्त्रीले मुलुकमा जातीय भेदभाव र छुवाछूतलाई पूर्ण रूपमा अन्त्य गरी सबै नेपाली नागरिकलाई समानताको आधारमा आत्मसम्मानपूर्ण व्यवहार सुनिश्चित गर्न हामी सबैलाई आजको दिनले अभिप्रेरणा दिन सकोस् कामना पनि गरेका छन् ।