चैत्र ८ : बागमती प्रदेशसभा बैठक आज मंगलबार बस्दैछ । बैठक दिउँसो १ बजे बस्दैछ । लामो समयदेखि एमालेको अवरोधका कारण बस्न नसकेको प्रदेशसभा बैठक गत फागुन २९ र ३० गते बसेको थियो । प्रदेशसभाको आज बस्ने बैठकमा ३ वटा विधेयक माथि छलफल हुने भएको छ । प्रदेशसभा सचिवालयका अनुसार आजको बैठकमा यस अघि सदनमा पेस भएको विभिन्न २ वटा विधेयक माथि छलफल भएर समितिमा पठाइने कार्यसूची रहेको छ ।
बैठकमा प्रदेश विपद् व्यवस्थापन ऐन २०७५ र प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन २०७५ संशोधन विधेयक र प्रदेश अनुसन्धान ब्युरो सेवाको गठन, स्थापना, काम कर्तव्य र अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथि छलफल हुने र त्यसको दफावार छलफलका लागि समितिमा पठाउने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए ।
बागमती प्रदेश सरकारले प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गर्ने तयारी गरेको छ । सरकारले बजेट निर्माणका लागि वर्षे अधिवेशन बोलाउन पर्ने भएकाले आज नै हिउँदे अधिवेशन अन्त्य गर्ने तयारी थालेको हो ।
आज बस्ने प्रदेशसभाको बैठकबाट सदनमा रहेका विधेयकहरुको विषय टुङ्ग्याएर अधिवेशन अन्त्य गर्ने सरकारले योजना बनाएको प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद शर्मा खनालले बताए ।


















