सहरी विकास कार्यक्रममा बजेट थप्न मन्त्री झाँक्रीको आग्रह

चैत्र १ः सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले राष्ट्रिय योजना आयोगलाई एकीकृत सहरी विकास कार्यक्रमका लागि थप बजेट छुट्याउन आग्रह गरेकी छन् ।

एकीकृत सहरी विकास नीतिको मस्यौदा अन्तिम चरणमा रहेको बताउदै उनले सो कार्यक्रमका लागि थप बजेट आवश्यक रहेको बताएकी हुन् । बिहीबार मन्त्रालयमा आयोजित सघन सहरी विकास कार्यक्रमको निरन्तरतासम्बन्धी छलफलमा मन्त्री झाँक्रीले मन्त्रालयले केही नयाँ कार्यक्रमका लागि बजेटको पहल गरिरहेको बताइन । ‘

एकीकृत सहरी विकास कार्यक्रम नयाँ हो । यसलाई बजेटमार्फत यस वर्षको कार्यक्रम र बजेटमा समावेश गरेर अघि बढौं,’ उनले भनिन् । उनले मन्त्रालयले बनाउन लागेको युटिलिटी करिडोर ऐनको मस्यौदा अन्तिम चरण पुगेको बताउँदै मन्त्रालयले नयाँ कार्यक्रम ल्याउने विषयमा गृहकार्य गरिरहेको बताइन् ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वराज पौडेलले मन्त्रालयले सहरी सौन्दर्य बढाउने खालका कार्यक्रम अघि बढाउनुपर्ने धारणा राखे ।