चैत्र १४ : गर्मी मौसम सुरु भएसँगै विभिन्न संक्रमणजन्य रोगको संक्रमण देखिन थालेको छ । जाडो मौसममा भन्दा गर्मीमा संक्रमणजन्य रोगहरु बढी फैलिने चिकित्सक बताउँछन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का अनुसार नेपालमा गर्मी, प्रि–मनसुन र मनसुनमा मलेरिया, कालाजार, डेंगु, एक्युट ग्यास्ट्रोएन्टेराइटिस, हैजा र सिभियर एक्युट रेस्पिरेटरी इन्फेक्सन र अन्य महामारीको सम्भावित रोगमा आन्द्राको ज्वरो, लेप्टोस्पाइरोसिस, हाइड्रोफोबिया, चिकुनगुनिया जस्ता रोग देखिने गर्दछन् ।
जनस्वास्थ्य विशेषज्ञका अनुसार गर्मी मौसममा फैलिने अधिकांश रोग पेटसँग सम्बन्धित हुन्छन्, जुन पानी, खाना र सरसफाइका कारण फैलिने गर्दछन् । नेपालमा गर्मी सुरु भइसकेकाले पनि अब संक्रमणजन्य रोगका विरामी पनि बढ्ने चिकित्सक बताउँछन् । गर्मी मौसममा संक्रमणजन्य रोगबाटजोगिन सावधानी अपनाउनपर्ने सुझाव छ, सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनको । डा. पुनका अनुसार गर्मी महिनामा टाइफाइड, हैजा, ठेउला, दादुरा रुघाखोकी, झाडापखाला, हेपाटाइटिस ए र इ, आउँ, जन्डिस जस्ता सरुवा रोग फैलिने गर्छन् ।
कुन रोग कसरी फैलिन्छ ?
ठेउला, दादुरा, रुघाखोकी जस्ता सरुवा रोग हावाबाट फैलिन्छन् भने टाइफाइड अर्थात् हेपाटाइटिस ए र ई, झाडापखाला, हैजा लगायतका सरुवा रोग दूषित पानीबाट सर्ने डा. पुन बताउछन् । जनस्वास्थ्य विज्ञका अनुसार यस्ता रोगहरु विशेष गरी हावा, पानी, लामखुट्टृेलगायत कीटको संक्रमणबाट हुने गर्दछन् । गर्मी मौसममा एउटै खालका रोगहरु हरेक वर्ष दोहोरिने भएकाले समयमै सावधानी अपनाए रोग लाग्नबाट बच्न र बचाउन सकिने जनस्वास्थ्य विज्ञ डा. शरद वन्तको भनाइ छ ।
सरकारले रोगको बारेमा जनचेतनामूलक सन्देश प्रवाह गर्नु पर्ने डा.वन्तको सुझाव छ । गर्मी महिनामा पानीबाट र खानाबाट रोग लाग्ने भएकाले पानीको मुहान सफा राख्नु जनस्वास्थ्य विज्ञ डा. केदारप्रसाद बराल जोड दिन्छन् । कोभिडको समय घट्यो, संक्रमणजन्य रोगको भय कोभिड–१९ को डरले आम मानिसहरुले स्वास्थ्यका मापदण्ड पालन गर्नुका साथै सरसफाइमा ध्यान दिएकोले विगत दुई वर्षदेखि मौसमी रोगहरूमा कमी आएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दास बताउछन् । कोभिडकालमा अन्य संक्रमणजन्य रोग लिएर अस्पतालमा बिरामी नआएको सरुवा रोग विशेषज्ञ डा. पुनले जानकारी दिए ।
साथै, बासी, सडेगलेका तथा झिँगा भन्किएका खानेकुरा, फोहोर पानी अनि फोहोरी हातबाट बनाइएका खानेकुराबाट पनि सरुवा रोग लाग्न सक्ने चिकित्सकको भनाइ छ । पानी उमालेर पिउनाले पनि संक्रमणजन्य रोगबाट बच्न सकिने चिकित्सकहरुको राय छ । नसर्ने रोग सम्बन्धि तथ्यांक नेपाल बर्डन अर्फ डिजिज २०१७ का अनुसार नेपालमा कुल जनसंख्याको ४.५१ प्रतिशतको अकाल मुत्यु झाडापखालाले हुने गरेको देखिएको छ। जुन सन् १९९० मा १२.१७ प्रतिशत मानिसको मुत्यु झाडापखालाले हुने गथ्र्यो । गर्मी प्रि मनसुन र मनसुन मौसममा मुलुकमा सरुवा रोगको जोखिम अझै पनि नेपालमा भएकोले सरकाले विशेष सावधानी अपनाउनुपर्ने विज्ञहरुको सुझाव छ ।
त्यस्तै, नेपाल बर्डन अफ डिजिजको २०१७ को तथ्यांक अनुसार नेपालमा झाडापखाला जन्य रोगबाट ३.४२ प्रतिशत संक्रमित हुने गरेका छन् । स्वास्थ्य व्यवस्थापन सुचना प्रणाली (एचआएमएस)को आर्थिक वर्ष २०७६–७७ का लागि तयार पारेको देशभरका विभिन्न अस्पतालको तथ्यांक अनुसार नेपालमा ३७ हजार ६६७ जना मौसमी रोगबाट संक्रमि हुने गरेको देखिएको छ। जसमध्ये ७०७ जनाको मुत्यु हुने गरेको छ । त्यस्तै २७ हजार १७६ जना मानिसहरु पानी जन्य रोगबाट संक्रमित हुने गरेको एचआएमएसले उल्लेख गरेको छ । जसमध्ये ४९१ जनाको मुत्यु हुने गरेको छ।


















