युक्रेनको पूर्वी क्षेत्रमा रुसको आक्रमण तीव्र, युद्धको सामना गर्न युक्रेनी सेनालाई निकै सकस

बैशाख ७ : रुसले पूर्वी युक्रेनमा आक्रमण तीव्र बनाउँदै लगेको छ । रुसले डोनबास क्षेत्रमा धेरै ठूला आक्रमण गरेको समाचार संस्था एएफपीले जनाएको छ ।

रुसी आक्रमणमा परेर कैयौँ सर्वसाधारणले ज्यान गुमाएका छन् भने सहरका ठूला भवन ध्वस्त भएका छन् । युक्रेनी सेनालाई युद्धको सामना गर्न निकै सकस परिरहेको अन्तराष्ट्रिय सन्चार माध्यमहरुले जनाएका छन् ।

यस्तै पूर्वी सहर क्रेमिनामा पनि ठूला लडाइँहरू चलिरहेका छन् । रुसी सेनाले लुहान्सक क्षेत्रमा पर्ने क्रेमिनाको केही क्षेत्र कब्जा गरेको युक्रेनी सेनाले स्वीकार गरेको छ । सरकारले नागरिकलाई आश्रयस्थलमै बस्न भनेको छ ।

यसैबीच रुसी रक्षा मन्त्रालयले मरिओपोलको स्टिल कारखानामा लुकेर बसेका युक्रेनी सेनालाई आत्मसमर्पणको अन्तिम मौका दिएको छ ।

मारिओपोललाई रुसको पूर्ण कब्जामा जानबाट रोक्न भन्दै एक हजार जनाभन्दा धेरै युक्रेनी सेना विशाल स्टिल कारखानामा लुकेर बसेका छन् ।

रुसको निरन्तरको आक्रमणका कारण युक्रेनको अवस्था झनै जटिल बन्दै गएको छ ।