बैशाख ७ : कोरोना कहर कम भएसंगै वैदेशिक रोजगारीमा जानेको संख्यामा वृद्धि हुन थालेको छ । चालू आर्थिक वर्षको ९ महिनामा श्रमस्वीकृति लिएर विदेश जाने श्रमिकको संख्या ४ लाख ५२ हजार पुगेको वैदेशिक रोजगार विभागको तथ्यांक छ । यो संख्या गत वर्षको सोही अवधिको तुलनामा तेब्बर बढी हो । गत वर्षको ९ महिनामा १ लाख ४७ हजार युवाले श्रमस्वीकृति लिएका थिए ।
कोभिड खोपको पहुँच र स्वास्थ्य मापदण्डमा आएको लचकताका कारण कोरोना संक्रमणका बीच समेत नेपालबाट वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या उल्लेख्य वृद्धि भएको हो । चालू आवको पुस महिनामा वैदेशिक रोजगारीका लागि श्रमस्वीकृति लिने युवाको संख्या हालसम्मकै उच्च देखिएर बीचका दुई महिना केही घटेर चैतमा पुनः बढेको छ ।
कोरोना संक्रमणको तेस्रो लहरपछि चैतमा सबैभन्दा बढी युवाले श्रमस्वीकृति लिएको पाइएको छ । चालू आर्थिक वर्षको साउन महिनामा २३ हजार ३७ ले विदेश जान श्रमस्वीकृति लिएकोमा यो संख्या चैतमा ५२ हजार पुगेको छ । विगत २ वर्षदेखि न्यून रहेको वैदेशिक रोजगारीको श्रमस्वीकृति चालू आवको ९ महिनामा उच्च देखिएको हो । गत आवको पहिलो ९ महिनाको तुलनामा चालू आवको सोही अवधिमा वैदेशिक रोजगारीमा जान श्रमस्वीकृति लिने श्रमिकको संख्या ३ गुणाले बढनु रेमिट्यान्स वृद्धिको सकारात्मक संकेत हो ।
कोरोना संक्रमणअघिको सामान्य अवस्थामा मासिक रूपमा ४० हजार युवा वैदेशिक रोजगारीमा जाने गरेका थिए । चालू आवको चैतमा आएर वैदेशिक रोजगारीमा जानेको संख्या विगतको सामान्य अवस्थाभन्दा बढी पुगेको छ ।
विभागको काठमाडौं कार्यालय ताहाचलका अनुसार कोरोना संक्रमणदरमा कमी आएपछि वैदेशिक रोजगारीमा जान श्रमस्वीकृति लिनेको संख्या बढेको हो । कार्यालयका अनुसार राजधानीसहित देशभरका ७ श्रम कार्यालयबाट श्रमस्वीकृति लिने व्यवस्था अनलाइन मार्पmत गरेका कारण श्रमिकलाई सेवा लिन सहज समेत भएको छ ।
सरकारले वैदेशिक रोजगारीमा जाने युवाका लागि कोरोनाविरुद्धको खोप व्यवस्थापन गरेपछि पछिल्लो समय करार रद्द गरेर आएका श्रमिक पनि पुनः वैदेशिक रोजगारी नै जाने प्रवृत्ति बढ्दै गइरहेका कारण पनि श्रमस्वीकृतिको संख्यामा वृद्धि भएको हो ।


















