बैशाख १९: सूचना प्रविधिमा महिलाको सहभागिता बढाउन सरोकारवालाहरूले जोड दिएका छन् । अन्तर्राष्ट्रिय गल्र्स इन आइसिटी दिवसको अवसरमा वुमन इन इन्फर्मेसन टेक्नोलोजी (डब्लुआईआईटी) लेआयोजना गरेको एक कार्यक्रममा सरोकारवालाहरूले यस्तो बताएका हुन् । उक्त दिवसको अवसरमा डुब्लुआईआईटीले बिहीबार ‘सेफर इन्टरनेट एक्सेस फर गल्र्स’ सम्मेलन आयोजना गरेको थियो । सुरक्षित इन्टरनेट पहुँचको नारामा बोकेर सम्पन्न भएको उक्त कार्यक्रममा सूचना प्रविधि क्षेत्रमा आबद्ध करिब ५० महिलाहरूको सहभागिता थियो ।
कार्यक्रममा सूचना प्रविधि क्षेत्रमा स्थापित अब्बल महिलाहरूले सुरक्षित इन्टरनेट पहुँचका विषयमा कार्यपत्र समेत प्रस्तुत गरेका थिए । जसमा साइबर सुरक्षा कम्पनी मुनाल टेक प्रालीकी संस्थापक सीईओ मोना न्याँचो, एनसेलको इन्फर्मेसन सेक्युरिटी यूनिट हेड यास्मिन भट्टराई र नेपाल प्रहरीकी प्राविधिक तथा इन्जिनियर दिपा भट्टराईले साइबर सुरक्षाका विविध आयाम, थ्रेट र जनचेतनामुलक कार्यपत्र प्रस्तुत गरेका थिए । यसैगरी २०२० की आइसिटी आईकन प्राध्यापक तिमिला यामी थापाले आइसिटी क्षेत्रको आफ्नो यात्रा अनुभव सुनाएकी थिइन् ।
कार्यक्रममा साइबर सुरक्षामै आधारित रहेर एउटा प्यानल छलफल कार्यक्रम समेत आयोजना गरिएको थियो । उक्त प्यानलमा साइबर सेक्युरिटी कम्पनी ईमिनेन्स वेजकी विजनेस डेभलपमेन्ट हेड निशा उपाध्याय, नेपाल बैंक लिमिटेडकी इन्फर्मेसन सेक्युरिटी अफिसर आईएसओ बन्दना शर्मा, नेपाल टेलिकमकी निर्देशक विनिता श्रेष्ठ र साइबर सुरक्षा सेवा प्रदायक कम्पनी लगपोइन्टकी सेक्युरिटी अनुसन्धानदाता शुस्मा शर्मा रहेका थिए । प्यानल छलफललाई क्यान महासंघकी वरिष्ठ उपाध्यक्ष तथा डब्लुआईआईटीकी कार्यकारी सदस्य रत्न तारा वैद्यले मध्यस्थता गरेकी थिइन् । छलफलमा सम्पूर्ण महिलाहरूले आफ्नो क्षेत्रमा हुँदै आइरहेको साइबर सुरक्षाका कार्यहरूको बारेमा बोलेका थिए ।
यसैगरी कार्यक्रममा प्रमुख अतिथिका रूपमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव बैकुण्ठ अर्याल उपस्थित थिए । कार्यक्रममा बोल्दै सचिव अर्यालले आइसिटी क्षेत्रमा महिलाको सहभागिता बढाउन र साइबर सुरक्षा कायम गर्न आगामी वर्षको बजेट तथा नीति कार्यक्रममा समेत व्यवस्था गर्ने बताए । त्यसका लागि आइसिटी क्षेत्रका विज्ञ महिलाहरूको परामर्शको खाँचो मन्त्रालयलाई सदैव रहेको उनले जानकारी गराए ।
कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालको समेत उपस्थिति थियो । कार्यक्रममा बोल्दै खनालले आईसीटीमुलक कार्यक्रमहरू सहर केन्द्रित भएको भन्दै उपत्यका बाहिरका सम्पूर्ण सुधुर क्षेत्रमा समेत यस्ता किसिमका कार्यक्रमहरुलाई पुर्याउन सुझाव दिँदै प्राधिकरण सहयोगका लागि सदैव तयार रहने प्रतिवद्धता जनाए ।
यसैगरी कार्यक्रममा बोल्दै डब्लुआईआईटीकी अध्यक्ष गुनाकेशरी प्रधानले ९ जनाबाट सुरु भएको डब्लुआईआईटीले आयोजना गरेको यस्तो कार्यक्रमले प्रविधिको क्षेत्रमा संलग्न सम्पूर्ण महिलाहरूलाई एकैथलोमा ल्याएर सम्बन्ध सञ्जाल विस्तार गर्न सहयोग पुराएको बताए ।
कार्यक्रममा डब्लुआइआईटीले देशव्यापीरुपमा आयोजना गरेको ग्राफिक्स डिजाइन प्रतियोगिताका तीन विजेतालाई समेत सम्मान पुरस्कार प्रदान गरेको थियो । जसमा प्रथम हुने सेन्ट जेभियर्सकी सरिता शाक्यले १० हजार, दोस्रो हुने इस्लिङटन कलेजकी स्तुती श्रेष्ठले ५ हजार र तेस्रो हुने अरनिको उच्च माध्यमिक विद्यालयकी प्रतिक्षा प्रधानले ३ हजार रुपैयाँ राशीको पुरस्कार र सम्मानपत्र प्राप्त गरेका थिए ।


















