नेतृत्वको अवसर पाए गरेर देखाउँछु : मीना विश्वकर्मा, अध्यक्षको उम्मेदवार, रघुगंगा गाउँपालिका

बैशाख २२ : सदियौंदेखि दलित,जनजाती र गरीवहरु पिछडीएका छन् । चाहे त्यो समाजमा आफ्नो दरिलो उपस्थितीको लागि होस् वा नेतृत्वको लागि । कानुनका पानामा पिछडीएको वर्गको लागि राम्रै ओत भएपनि व्यवहारमा समाजले अझैं हेर्ने दृष्टिकोण उहि पुरानो शैली नै छ । तलुवामुनिका मान्छेहरुको हैसियत, बाध्यता, गरिबी, पछौटेपन, र अवसरहरु हिजो जे थियो त्यही अवस्थामा भएको भान हुन्छ । तथापि गरीव, दलित र जनजातीहरुमा एउटा किसिमको चेतनाको सन्चार भने हुन सकेको छ । यही चेतना जागिरहेको अवस्थामा यो समुदायले नेतृत्वको अवसर पनि पाउन थालेको छ ।

मीना विश्वकर्मा, जो यही वैशाख ३० गते हुने स्थानीय तह चुनावका लागि म्याग्दीमा प्रमुख पदमा एक मात्र दलित महिला उम्मेदवार बनेकी छन् । नेकपा (माओवादी केन्द्र) ले मीना विश्वकर्मालाई रघुगंगा गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवार बनाएपछि २८ वर्षीय मीना दुधे बच्चा बोकेर चुनावी मैदानमा होमिएकी हुन् ।

आफु गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवार बनेपछि उनले नेतृत्व गर्ने अवसर पाए गरेर देखाउने प्रतिबद्धता व्यक्त गरिन् । उनले यसलाई आफ्नो समुदायको लागि अवसर र चुनौती दुबैको रुपमा लिएकी छन् । गाउँपालिका अध्यक्ष जितेमा आफ्नो समुदायको उत्थानको साथै अन्य समुदायका गरिब विपन्नको समस्याप्रति ध्यान दिने उनको भनाइ छ । मीनाको आत्मविश्वास र साहसबाट स्थानीय बासीन्दा प्रभावित बनेका छन् ।
मीनाले दलित समुदायले भोग्दै आएको विभेद र उत्पीडनको समस्याको बारेमा भावुक शैलीमा अभिव्यक्ति दिँदा भाषण सुन्न गएकाको आँखा रसाउने गर्छन् ।उत्पीडनको आवाज बोकेर चुनावी मैदानमा उत्रिएकी उनको प्रतिस्पर्धीको रूपमा एमालेका प्रेमबहादुर कार्की र नेपाली कांग्रेसका भवबहादुर भण्डारी छन् ।

बेनी नगरपालिका–१० पात्लेखेत माइती भएको मीनाको कक्षा १० पढ्दै गर्दा १७ वर्षको उमेरमा मागी विवाह भएको थियो । अनेरास्ववियु क्रान्तिकारी र वाइसीएलमा आबद्ध भएकी उनी विवाहपछि राजनीतिमा निष्क्रिय भएकी थिइन् । गाउँमै खेतीकिसानी गरेर जीविकोपार्जन गर्दै आएकी मीना पछिल्लो समय पार्टीसँग सम्बद्ध भएर उम्मेदवार बनेकी हुन् । उनका जेठा छोरा १० वर्षका छन् ।

दुई वर्षका छोरा बोकेर भोट माग्न घरदैलो अभियानमा उनी व्यस्त छन्। मिनाका श्रीमान् पनि सँगै चुनाव प्रचारमा छन् । प्रमुख पदमा मीनासहित म्याग्दीमा तीन महिला उम्मेदवार छन् । धवलागिरि गाउँपालिकाको अध्यक्षमा एमालेकी थमसरा पुन र बेनी नगरपालिकाको प्रमुखमा राप्रपाकी मिनाकुमारी शर्मा उम्मेदवार बनेका छन् । माओवादी केन्द्रले मंगला गाउँपालिकाको अध्यक्षमा टेकबहादुर विश्वकर्मालाई उम्मेदवार बनाएको छ । दलित समुदायबाट प्रमुख पदमा टेकबहादुर र मीना दुई मात्र उम्मेदवार हुँदैछ ।

दलितलाई नेतृत्व दिन पर्छ भन्ने नेकपा माओवादी केन्द्र रघुगंगा गाउँपालिका कमिटी म्याग्दीको निर्णयलाई समग्र दलित समुदायले स्वागत गरेको छ । परिणाम त आएपछी थाहा हुन्छ नै यद्यपि यो अवसरलाई गुमाउनु हुदैंन भन्नेमा रघुगंगा गाउँपालिकाबासी एकमत देखिएका छन् ।