पोल्टी फर्मको काममा साउदी अरब पठाइएका ४८ नेपाली युवा अलपत्र

बैशाख २३: रोजगारीको लागी साउदी अरब पुगेका ५५ जना नेपाली युवा अलपत्र परेका छन् । उनीहरू करिब ७ महिनाअघि त्यहाँ पुगेका थिए । काठमाडौँमा रहेको टोकियो ओभरसीज, वर्कफोर्स सर्भिसेज र डि प्रोटोन म्यानपावर प्रालिमार्फत साउदीको अलमराजमा रहेको डेलिभरी टाइम कम्पनीमा पोल्टी फर्मको काममा पठाइएका उनीहरुलाई कम्पनीले दुई महिना १० दिनको तलब नदिएपछि अलपत्र परेका हुन्। यी तीन म्यानपावरलाई प्रतिव्यक्ति १ लाख ८० हजारदेखि २ लाखसम्म बुझाएर साउदी पुगेका उनीहरूलाई एजेन्ट तथा म्यानपावरले कम्पनी भनेर पठाए पनि ७ महिनामा कम्पनीले ४ वटा ठाउँ फेरिसकेको सुनसरीका महमद राम्जान मियाले जानकारी दिए ।

पछिल्लो समय आफूहरुको फोन समेत नउठाएको भन्दै उनीहरूले पठाउने म्यानपावरलाई कारबाही गर्न र आफूहरूलाई सकुशल नेपाल फिर्ता गर्ने वातावरण मिलाइदिन नेपालस्थित श्रम मन्त्रालय, वैदेशिक रोजगार विभाग लगायत विभिन्न मानवअधिकारवादी सङ्घसंस्थालाई अपिल गरेका छन्।

रियादस्थित नेपाली दूतावासलाई पटक–पटक आफूहरु समस्यामा परेको भन्दै उद्धारको अपिल गरे पनि कुनै पहल नभएको उनीहरुको गुनासो छ। दूतावासमा ४ पटक फोन गर्दा हुन्छ, हुन्छ। हामी हेर्छौ भनेको भए पनि अहिलेसम्म कुनै पहल नभएको उनीहरूले बताएका छन् । समस्यामा परेका नेपालीलाई सहयोग गर्न खोलिएको दूतावास नाम मात्रको भएको उनीहरूले आरोप छ। अबको दुई– तीन दिनमा खाना खाने पैसा समेत नपुग्ने उनीहरुको चिन्ता छ ।