तनहुँमा एमाले र काँग्रेस कार्यकर्ताबीच ढुंगा हानाहान

बैशाख २७ : तनहुँको घिरिङ गाउँपालिकामा नेकपा एमाले र नेपाली काँग्रेसका कार्यकर्ताबीच ढुंगा हानाहान भएको छ । गाउँपालिकाको कार्यालय पोखरीछाप परिसरमा ढुंगा हानाहान भएको हो ।

दुई समूहको ढुंगा हानाहानले केही बेर स्थिति तनावग्रस्त बन्न पुगेको थियो । काँग्रेस कार्यकर्ताले हानेको ढुंगा लागेर एमालेका कार्यकर्ताले चढ्दै आएको ग२च १८०५ नम्बरको कारमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

घिरिङ गाउँपालिका– ५ मा चुनावी ¥यालीमा सहभागी हुन पुगेका बालक नदीमा डुबेर बेपत्ता भएको विषयमा विवाद हुँदा सामान्य झडप भएको हो । सोमबार काँग्रेसको चुनावी ¥यालीमा सहभागी हुन पुट्टार पुगेका घिरिङ–५ का १२ वर्षीय ईश्वर विक कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका छन् ।

आफ्नै हजुरआमा निरमाया विक दलित महिला सदस्यको उम्मेदवार भएपछि उनी ¥यालीमा सहभागी भएको काँग्रेस घिरिङ गाउँपालिकाका सभापति यामबहादुर थापाले बताए । उनले सोमबारको बृहत् चुनावी सभामा सहभागी नभएको तर केही दिनदेखि पुट्टार आफन्तकोमा रहेका उनी ¥यालीसहित पुगेका आफन्तसँग घर फर्किएको दाबी गरे । बेपत्ता विकको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।