रुसको आक्रमणले अस्तव्यस्त बनेको युक्रेनद्वारा युद्धविराम गर्न अस्वीकार

जेठ ९ : डोनबास क्षेत्रमा भीषण सङ्घर्ष जारी भए पनि युक्रेनले युद्धविरामलाई अस्वीकार गरेको छ। रूसले पूर्वी डोनबास क्षेत्रमा व्यापक आक्रमणलाई बनाइरहेका बेला युक्रेनले युद्धविराम वा मस्कोलाई सहुलियत दिन अस्वीकार गरेको हो।

रणनीतिक दक्षिणपूर्वी शहर मारिउपोलमा अन्तिम युक्रेनी लडाकुहरूले प्रतिरोध समाप्त गरेपछि रुसले डोनबासका दुई प्रान्त मध्येको एक लुहान्स्कमो भीषण आक्रमण गरिरहेको छ।रुसी–समर्थित पृथकतावादीहरूले फेब्रुअरी २४ मा आक्रमण गर्नुअघि लुहान्स्क र छिमेकी डोनेट्स्क प्रान्तको ठूलो भूभाग नियन्त्रण गरिसकेका भए पनि मस्कोले युक्रेनको नियन्त्रणमा रहेको डोनबास कब्जा गर्न चाहेको छ।

रुसी सेनाले स्लोभ्यान्स्क र सिभिएरोडोनेत्स्क सहरहरूमा आक्रमण गर्ने प्रयास गरिरहेको तर युक्रेनी सेनाले उनीहरूको दुष्प्रयासलाई असफल पारेको जानकारी दिँदै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले डोनबासको अवस्था अत्यन्तै कठिन भएको बताएका छन्।

राष्ट्रपति जेलेन्स्कीका सल्लाहकार मिखाइलो पोडोल्याकले युद्धविराममा सहमत हुन अस्वीकार गर्दै किएभले मस्कोसँगको कुनै पनि सम्झौता स्वीकार नगर्ने स्पष्ट पारेका छन्। युद्ध नरोकिने बताउँदै उनले त्यसो गर्दा मस्कोले नयाँ आक्रमण गर्ने तथा भारी मात्रामा रक्तपात हुने बताए।

यसैबीच, अमेरिकी रक्षामन्त्री लोयड अस्टिन र इटालीका प्रधानमन्त्री मारियो ड्राघीबाट तत्काल युद्धविरामको लागि आह्वान गरेका छन्।