जेठ १३: प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सञ्चार माध्यमलाई मर्यादित बनाउन मिडिया साक्षरता (लिटिरेसी) मा सबैले ध्यान दिनुपर्ने सुझाव दिएका छन् । ‘पत्रकारितामा नयाँ पुस्ताको आगमन बढिरहेको छ, अनलाइनमा झन् बढी छ, यो पुस्ताकालागि आचारसंहितालगायतका विषयमा साक्षरता कार्यक्रम बढाउनुपर्ने देखिन्छ’, काउन्सिलद्धारा शुक्रबार आयोजित पत्रकार आचारसंहिता अभिमुखीकरण कक्षामा बोल्दै बस्नेतले भने ।
मिडिया साक्षरताको लागि सरकारले पर्याप्त स्रोत÷साधन उपलब्ध गराउनुपर्ने बस्नेतको सुझाव थियो । ‘काउन्सिलले खासगरी नयाँ आउने अनलाइन मिडियाका सञ्चालक र पत्रकारमा केन्द्रित भई नियमितरूपमा आचारसंहिता अभिमुखीकरण अभियान थालेको हो’, उनले भने ।
सोही क्रममा विषय विज्ञका रूपमा आउनुभएका त्रिभुवन विश्व विद्यालय पत्रकारिता तथा आमसञ्चार विषयका सह–प्राध्यापक डा.कुन्दन अर्यालले काउन्सिलको पछिल्लो कदमको स्वागत गरे । साथै उहाँले सञ्चारकर्मी आफैँ सक्षम नभई पत्रकारिता स्वच्छ नहुने धारणा राखे ।
सम्पादकले आफूले लेखेको र आफ्नो मिडियाबाट छापिएका सबै कुराको जिम्मेवारी लिन सक्नुपर्ने उनले बताए । पत्रकार आफैँ स्वतन्त्र हुनसके मात्र सम्पादकीय स्वतन्त्रता बच्ने भन्दै दबाब र प्रभावमा सम्पादक पर्न नहुने उनको सुझाव थियो ।
काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसालले काउन्सिलले जारी गरेका विभिन्न निर्देशिकाहरूमा उल्लेख प्रावधानबारे जानकारी दिए। उनले महिला उत्तरदायी सञ्चार निर्देशिका–२०७६, अपाङ्तामैत्री सञ्चार निर्देशिका–२०७३, बालमैत्री सञ्चार निर्देशिका–२०७३ तथा ज्येष्ठ नागरिकमैत्री सञ्चार निर्देशिका–२०७८ मा उल्लेख प्रावधानहरूबारे जानकारी दिए ।
वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनाल र काउन्सिलका कर्मचारीको सहभागिता रहेको उक्त कक्षमा भौतिक रूपमा ३२ जना र जुम मार्फत १२ जनाले प्रशिक्षण दिएका थिए । सहभागीमध्ये आवश्यक प्रक्रिया पुगेका अनलाइन सञ्चार माध्यमलाई प्रमाणपत्र तथा काउन्सिलले जारी गरेको आचारसंहिता लगायतका पुस्तक प्रदान गरिएको थियो ।


















