अमेरिका भ्रमण औपचारिक रूपमा तय भइसकेको छैन् : प्रधानमन्त्री

असार ५ :  प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकाको भ्रमण औपचारिक रूपमा तय भइनसकेको बताएका छन् । देउवाले आइतवार नेपाली कांग्रेस सचेतक पुष्पा भुसालसँगको भेटमा भ्रमण तय भएपछि सदन वा संसदीय समितिमा आएर औपचारिक रूपमा जानकारी गराउने बताएका हुन् ।

प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले भ्रमणका सम्बन्धमा जानकारी लिन प्रधानमन्त्री देउवालाई समिति बैठकमा बोलाएको सन्दर्भमा समिति सदस्यसमेत रहेकी सचेतक भुसालले आज देउवासँग भेट गरेकी थिइन् ।

समितिको यसअघिको बैठकमा परराष्ट्र मन्त्री डा. नारायण खड्काले प्रधानमन्त्रीको अमेरिका भ्रमणका सम्बन्धमा प्रारम्भिक छलफल भएको तर अन्तिम टुङ्गो लागिनसकेको स्पष्ट पारेकी थिइन् ।

समितिले नेपालको परराष्ट्र नीति कार्यान्वयन र प्रधानमन्त्रीको भ्रमणका सम्बन्धमा छलफल गर्न आज बैठक बोलाएको थियो । प्रधानमन्त्री देउवा आफ्नो कार्यव्यस्तताका कारण बैठकमा उपस्थित भएनन्।