ओखलढुंगामा जंगली च्याउ खाँदा एकै परिवारका तीन जनाको मृत्यु

असार ६ : ओखलढुंगामा जंगली च्याउको तरकारी खाँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । चम्पादेवी–७ फूलबारीकी २४ वर्षीया ढककुमारी लामिछाने, उनका श्रीमान् राजन विष्ट र हजुरआमा हजुरआमा मनमाया विष्टको मृत्यु भएको हो ।

ढककुमारीले गत जेठ २८ मा जंगल जाँदा गोबरमा उम्रेको च्याउ टिपेर ल्याई तरकारी पकाएकी थिइन् । त्यो दिन सासू सीता विष्ट उपचारका लागि काठमाडौं गएकाले घरमा ९३ वर्षीय हजुरआमा मनमाया, २७ वर्षीय श्रीमान् राजन र ढककुमारीले तरकारी खाए । तीन वर्षीया छोरी करिश्माले भने तरकारी खाइनन् ।

तरकारी खाएलगत्तै उनीहरूलाई बिस्तारै पेट पोलेको महसुस भयो । सानी छोरी करिश्मा पनि त्यही बिरामी भइन् । सामान्य समस्या होला भनेर उनीहरूले घरेलु औषधि उपचार गरे । अप्ठ्यारो बढेको तीन दिनपछि छिमेकीले उनीहरूलाई ओखलढुंगा सामुदायिक अस्पताल मिसन पुर्‍याए । उपचारकै क्रममा ढककुमारीको मृत्यु भयो । हजुरआमा मनमाया, श्रीमान् राजन र छोरी करिश्मा विष्टलाई थप उपचारका लागि सेनाको हेलिकोप्टर व्यवस्था गरी शिक्षण अस्पताल काठमाडौं पठाइयो । मनमायाको सोही दिन शिक्षण अस्पतालमै मृत्यु भयो भने राजनको मृत्यु उपचारका क्रममा गत बिहीबार भयो । करिश्माको स्वास्थ्यमा भने सुधार आएको छ ।

च्याउमा विद्यावारिधि गरेका नास्टका वरिष्ठ वैज्ञानिक अधिकृत जयकान्त राउत जंगलका च्याउ किराले खाएको, जंगली जनावरले खाएको भन्ने तर्क गरेर धेरैले प्रयोग गरे पनि त्यो गलत भएको बताउँछन् । नेपालमा पाइने च्याउमा १ सय ५७ प्रकारका खान मिल्ने र सय प्रकारका विषालु हुने जानकारी उनले दिए । मुलुकमा बर्सेनि विषालु च्याउका कारण ५० देखि ७० को मृत्यु हुने गरेको छ ।