असार २० : सदिऔं कालदेखी छुवाछुत र भेदभावको शिकार बनिरहेको दलित समुदायले यतिबेला भूमि, शिक्षा, स्वास्थ्य, राजनीति लगायतका क्षेत्रमा क्रमश फड्को मार्दै गइरहेको छ । अथवा यसरी बुझौं दलित आन्दोलनले सार्थकता पाउदैं गएको छ ।
दलितले छोएको खानुहुदैंन भन्ने दरिद्र मानशिकताले दह्रो जरा गाडेको यहि समाजले यतिबेला बुझ्न थालेको छ । मानिस सबै एकै हो, र हात काट्दा सबैको रगत रातो नै आउँछ । त्यसैले त यस्ता विभेद अनि छुवाछुतहरु क्रमश हराउँदै छन् । अनि सबै जातजाती भाषा भाषी र समुदायले अपनत्व महशुश गर्दै एउटै छानामुनी बसेर एउटै परिवारको रुपमा खाना खान थालेका छन् । जसको पछिल्लो उदाहरण हो ।
तनहुँको व्यास नगरपालिका–१३ आँपस्वारामा दलित समुदायले चलाएको नेपालकै पहिलो सामुदायिक होमस्टे । पर्यटनकर्मी युवाहरूको संस्था ‘कन्सेप्ट नेपाल’ले असार १५ को अवसर पारेर नेपालका स्थापित लेखकहरूलाई सोहीहोमस्टेमा पुर्यायो ।

सो गाउँमा १८ घरमा होमस्टेको सुविधा रहेको छ । कवि तथा लेखकहरूले दुई रात विश्वकर्मा समुदायको घरमा बसेर अन्तरक्रिया गरेका थिए । २ दिनसम्म उनिहरु सो गाउँमा रहदा माहोल निकै नै रोमान्चित बनेको थियो ।

असार १६ गते विश्वकर्मा समाज भवनमा आयोजित कार्यक्रममा उनीहरूले आ–आफ्ना अनुभूतिसहित रचना सुनाए । व्याँस नगरपालिकाका मेयर वैकुण्ठ न्यौपानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्थानीय तीन जना दलित शिल्पिहरू माटोका गहना बनाउने मेनुका बि.क, मादल बादक सुन्दर बिक, आरनको काम गर्ने डिलबहादुर बिकसहित डोकाडाला बुन्ने तुलसीबहादुर मगरलाई जनही १० हजार रुपैयाँसहित सम्मान गरिएको थियो ।

छुवाछुतविरुद्ध ऐक्यवद्धता जनाउन, गाउँलेको सुखदुःख बुझ्न, पर्यटनकर्ममा लागेका गाउँलेलाई उत्साहित बनाउन र ग्रामीण जीवनशैली अध्ययन गर्न आयोजित कार्यक्रम सफल भएको उपस्थित कवि तथा लेखकहरुको प्रतिक्रिया रहेको थियो ।

दलित आन्दोलन अझै जारी नै छ । तथापी पछिल्ला प्रयासहरुले सार्थकता पाउदैं जानु र हरेक क्षेत्रमा सबै जातजाती, भाषाभाषी समान हुन् भनेर व्यवहारीक रुपमा नै देखाउन सक्नुलाई एउटा ठूलो उपलब्धिका रुपमा लिन सकिन्छ ।

त्यसैले त यस्ता होमस्टेहरु अझै धेरै ठाउँमा खुल्न आवश्यक छ । पर्यटन प्रवद्र्धन संगै हरेक क्षेत्रमा दलितहरु शशक्त रुपमा उदाउन अब पक्कै ढिला गर्नु हुँदैन ।


















