बलात्कार आरोपमा धनकुटाको सहिदभूमि गाउँपालिका–५ का वडाध्यक्ष पक्राउ

असार २६ : एक युवतीलाई बलात्कार गरेको अभियोगमा धनकुटाको सहिदभूमि गाउँपालिका–५ का वडाध्यक्ष सन्तोष राई पक्राउ परेका छन् ।वडाध्यक्ष राईले आफूलाई होटलमा बन्धक बनाइ बलात्कार गरेको युवतीले जाहेरी दिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । राईलाई शनिबार राति साढे ११ बजे धनकुटा बजार नजिकबाट पक्राउ गरिएको थियो ।

शुक्रबार राति हिलेबाट तेह्रथुमको बसन्तपुर बजारस्थित एक होटलमा लगेर बन्धक बनाई बलात्कार गरेको जाहेरीमा उल्लेख रहेको प्रहरीले जनाएको छ । राईले घुम्न जाने बहानामा सहिदभूमि गाउँपालिकाको खोकुबाट तेह्रथुमको बसन्तपुर बजारमा पुर्‍याएको जाहेरीमा उल्लेख छ ।

घर फर्कन ढिलाइ हुने बहाना बनाएर आफूमाथि रातभर जबर्जस्ती गरेको पीडितको भनाइ छ । पक्राउ परेका ३८ वर्षीय वडाध्यक्ष राईलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी थप अनुसन्धानको प्रक्रिया अघि बढाइएको छ ।