वैज्ञानिक महावीर पुन गण्डकी प्रदेश रत्नबाट सम्मानित

असार २७ : वैज्ञानिक महावीर पुन गण्डकी प्रदेश रत्नबाट सम्मानित भएका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सोमबार पुनलाई गण्डकी रत्नबाट सम्मान गरेका हुन् । गण्डकी प्रदेश सरकारले चौथो वार्षिकोत्सवको अवसरमा उनलाई सम्मान गर्ने निर्णय गरेको थियो । ४ फागुनमा गर्ने भनिएको सम्मान पुन नेपालमा नरहेका कारण स्थगित भएर सोमबार गरिएको हो ।

गण्डकी रत्नबाट विभूषित व्यक्तिका लागि सार्वजनिक कार्यक्रममा प्रदेश सांसद सरहको मर्यादाक्रम निर्धारण गरिएको छ । प्रदेशभित्रका सरकारी अस्पतालमा निःशुल्क उपचार, विमानस्थलको भिआइपी कक्ष प्रयोग, सरकारले सञ्चालन गरेको सार्वजनिक सेवाका लागि विशेष प्राथमिकता र संरक्षणविहीन भएमा सरकारले नै जिम्मा लिने गरी कार्यविधि बनाइएको छ ।

गण्डकी सरकारले आगामी आर्थिक वर्षका लागि आविष्कारका क्षेत्रमा १० करोड विनियोजन गरेको छ ।