सुरु भयो गोरखामा ब्लड बैंक, अब सेतो रगत पनि गोरखामै

गोरखामा रक्त संचार सेवा केन्द्र(ब्लड बैंक) सञ्चालन आरम्भ गरिएको छ । नेपाल रेडक्रस सोसाइटी गोरखा शाखाले पाटेचौरस्थित पुरानो शिक्षा कार्यालय रहेको भवनमा व्लड वैँक स्थापना गरेको हो ।
बुधबार एक औपचारिक समारोहका बीच दुईसय पिण्ट रगत अट्ने क्षमता भएको व्लड वैँकको उद्घाटन गरिएको हो । जिल्ला समन्वय समितिका प्रमुख मोहन थापाले व्लड वैँक उद्घाटन गरेका हुन् ।

सो ब्लड वैँकमा रगतलाई ३० दिनसम्म सुरक्षितपूर्वक भण्डारण गर्न सकिन्छ । ३० दिनभित्र खपत नभएको रगतलाई ३१ औँ दिनमा चितवन तथा पोखरा पठाउने योजना रहेको रेडक्रसका सुवास घिमिरेले जानकारी दिए । साथै रक्तसञ्चार सेवाकेन्द्रमा सेतो रगत उत्पादन पनि गर्ने गरिन्छ । सेतो रगत उत्पादन र ब्लड वैँक सञ्चालनका लागि तालिमप्राप्त ल्याब टेक्निसियन र सहयोगीको व्यवस्था छ ।

ब्लड वैँक उद्घाटन गर्दै उनले आफ्नोतर्फबाट गर्नुपर्ने सकारात्मक सहयोग गर्ने जिसस प्रमुख थापाले प्रतिवद्धता जनाए । सो अवसरमा उनले तत्काल गर्नुपर्ने सहयोगका लागि ग्लोबल फाउण्डेशन इन्स्टिच्यूट नामक गैरसरकारी संस्थामार्फत सहयोग जुटाएको जनाए ।
साथै कार्यक्रममा गोरखा नगरपालिकाका मेयर कृष्ण राना, उपमेयर सपना पुन र सहिद लखन गाउँपालिकाकी उपप्रमुख इन्दिरा तिवारीले पनि व्लड वैँक सञ्चालन हुनु गोरखाका लागि अत्यन्त सुखद कार्य भएकाले यथासक्य सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।
प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले रक्त सञ्चार केन्द गोरखाका लागि अति खाँचो रहेको र त्यसको आरम्भ भएकाले यसलाई दीगो बनाउन सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताएका थिए ।