अभिनेत्री प्रियंका कार्कीको घरमा चोरी

काठमाडौं । अभिनेत्री प्रियंका कार्कीको घरमा चोरी भएको छ । ललितपुरको भैंसेपाटीस्थित उनको घरमा चोरी भएको हो । प्रहरीका अनुसार लक्ष्मीपूजाको राति चोरी भएको हो ।

प्रहरी परिसर, ललितपुरका प्रमुख एसएसपी यज्ञविनोद पोखरेलका अनुसार घरबाट ३० हजार रुपैयाँ नगद र ५ तोला बराबरका सुनका गहना चोरी भएको हो ।

उनका अनुसार नगद र सुन लक्ष्मीपूजा गर्न निकालिएको बेला चोरी भएको हो ।

परिवारका सदस्य खाना खान गएको बेला शौचालयको झ्यालबाट पसेर चोरी भएको हो । चोरीमा संलग्नको खोजी भइरहेको एसएसपी पोखरेलले बताए ।