नेपाल एयरलाइन्सको दिल्ली उडान रोकिएपछि २ सय ५४ यात्रु अलपत्र

काठमाडौं । नागरिक उड्ययन प्राधिकरण ‘क्यान’ले नेपाल एयरलाइन्सको दिउँसो १:४५ बजेको दिल्ली उडान अनुमति नलिएको भन्दै वाइडबडी बिमान आरए–२१७ को उडान रोकिदिएको छ।

काठमाडौंबाट भारतको नयाँ दिल्ली उड्न लागेको नेपाल एयरलाइन्सको वाइडबडीको आरए-२१७ को उडान रोकिएपछि २ सय ५४ जना यात्रु अलपत्र परेका हुन्।

दिउँसो १:४५ बजे दिल्लीका लागि उडान गर्ने तयारी गरेको नेपाल एयरलाइन्सको उडानलाई नागरिक उड्ययन प्राधिकरणले अनुमति नभएको भन्दै रोकिदिएपछि यात्रुहरू समस्यामा परेका छन् ।

नागरिक उड्ययन प्राधिकरणले नेपाल एयरलाइन्सलाई अनुमति भन्दा बढी उडान नगर भन्दा भन्दै उडानको तयारी गरेको कारण उडान रोकेको जनाएको छ ।

प्राधिकरणले उडान कटौती हुनेबारे नेपाल एयरलाइन्सलाई करिब दस दिनअघि नै सूचना दिएको जनाएको छ।

अन्तर्राष्ट्रिय उडान गर्ने स्वदेशी वायुसेवा कम्पनी हिमालय र नेपाल एयरलाइन्सलाई प्राधिकरणले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कम्तीमा एक उडान गर्न पत्राचार गरेको थियो।

भैरहवाबाट अन्तर्राष्ट्रिय उडान सुरू नगरे काठमाडौंबाट दैनिक हुने उडान कटौती गरिने जानकारी पनि दिएको थियो।