नेपाली हस्तकलालाई विश्व बजारमा चिनाउन कस्सिएका हरि

कहिले काहीँ भनिन्छ परिश्रम गर फलको आशा नगर। अर्को कुरा पनि भनिन्छ परिश्रमको फल मिठो हुन्छ। यी भनाइ र उखानको गतिलो उदाहरण ठ्याक्कै व्यवसायी हरि सेन्चुरी विश्वकर्मा हुन्। उनी हस्तकलाको व्यवसायी हुन्। आफैँ केही गर्नुपर्छ भनेर व्यवसायमा होमिएका उनी २०६४ सालदेखि उनले आफ्नै उद्योग सुरु गरेर यात्रालाई अघि बढाए।

पढाइसँगै सीपमुलक कामलाई प्राथमिकता दिएका उनले उद्योग खोले। सुरुवाती चरणमा २/३ जना कामदार राखेर उद्योग चलाउन थालेका सेन्चुरीले अहिले करिब ६० जना कामदारलाई रोजगारी दिइरहेका छन्। पाँच वर्ष अर्कैको कारखानामा काम गरेका उनले अहिले आफैँले रोजगारीको मुहान खोलेका छन्। सेन्चुरीको उद्योगका कामदारले कारखानाबाट र घरबाट दुवै ठाउँबाट काम गर्न सक्छन्। कामदारले आफ्नै घरबाट पनि काम गरेर आम्दानी गरिरहेका छन्।

हस्तकलालाई कालीगढको हिसाबले अन्तर्राष्ट्रिय स्तरमा चिनाउन पहल गर्ने मध्य उनी एक हुन्। कालिगढबारे महत्व बुझाउने बजार चिनाउने काम आफूले गरिरहेको उनी बताउँछन्। उनले अहिले यो पेसामा धेरै मान्छेहरू दलित समुदायबाट भएको, हस्तकलाको संरक्षण सम्बर्द्धन गर्न लागि परेको व्यक्ति, निम्न स्तरका कालिगढकाे जीवनस्तर उकास्नु, हस्तकलाको महत्व नबुझेकालाई बुझाउन, सम्भावना न देखेकालाई संभावना देखाउन, नेपाल सरकारको दायरामा ल्याउन आफूले भूमिका खेलिरहेको सेन्चुरी बताउँछन्।

उत्पादन गरेका बस्तुहरू आन्तरिक बाह्य बजारमा पुर्याउने, आफ्ना सामानहरु प्रदर्शनीमा ल्याउने, करको दायरामा आएर नेपाल सरकारले दिएका सहुलियत सेवा सुविधा लिने, नयाँ पुस्तामा सीप हस्तान्तरण गर्ने, नयाँ पुस्तामा पनि यसको सम्बर्द्धन र संरक्षणलाई निरन्तरता दिने, उद्यमीलाई स्वावलम्बी बनाउने उदेश्यका साथ हस्तकला कालिगढ संघकाे स्थापना २०७४ सालमा भएकाे थियो। उनले यही संस्थामार्फत पनि धेरै काम गरेका छन्।

हस्तकला क्षेत्रमा चासो राख्ने धेरै अनुभवी व्यक्तिहरु लामो समयसम्म यस क्षेत्रमा सङ्लग्न व्यक्तिसँऊ सहकार्य गरेर अघि बढ्ने यसको उद्देश्य रहेको छ। यसलाई अझ व्यापक बनाउन सहकार्य गरेर अघि बढन हस्तकला कालिगढ संघलाई अझ सुदृढ परिमार्जित गर्दै अघि बढ्ने उदेश्य रहेको उनी बताउँछन्। उनी यस संघको अध्यक्ष पनि हुन्।

‘नेपाली हस्तकलालाई विदेशमा चासो दिएर हेरिन्छ। नेपाली सामानमा विशिष्टता छ। १२/१४ औँ शताब्दीका अरनिको जस्तै हाम्रो परम्परागत विशिष्टता छ,’ उनले भने, ‘चीन र भारत, भियतनामा प्रतिस्पर्धा रहे पनि उनीहरु धेरै मेसिनको प्रयोग गर्ने र सस्तोमा सामान बेच्ने गरिरहेका छन्। तर हाम्रो डिजाइनमा माैलिकता छ परंरागत शैली छ।’

यहीँ सम्भावना हुँदाहुँदै पनि केही कालीगढहरू विदेशीन बाध्य भएको उनी बताउँछन्। कालीगढको माग बढिरहेको छ। ‘कालीगढहरू सम्भावना हुँदा हुँदै पनि विदेशी भूमिमा श्रम गर्न गइरहेका छन्। यसलाई रोक्न नेपाल सरकारले पुलकाे काम गरिदिनु पर्यो। मालिक र कालीगढको अवस्था एक आपसमा परिचित नहुँदा त्यसको बेफाइदा देशले भोगिरहेको छ’ उनले भने, ‘जिम्मेवारी पूर्वक काम गर्नु आफ्नो-आफ्नो क्षेत्रको दायित्व हुन आउँछ सबैले निरन्तर रुपमा आफ्नो काम गर्दै आउनु पर्यो।नेपाल सरकारले आफ्नै देशका श्रोत साधनको उपयोग सहज रुपमा उपलब्ध हुने व्यवस्था गर्नु पर्यो।’

सरकारले उद्यमी बन्ने तयारीमा रहेकाहरूलाई सहुलियतको कर्ता व्यवस्था गर्नुपर्ने, प्रविधि हस्तान्तरणमा सहजीकरण, उत्पादनमा सहयोग गरे नेपाली कालीगढले अझै धेरै फड्को मार्ने सेन्चुरीको भनाइ छ। ‘नेपालमै उत्पादन भएका सामानहरुको डिजाइनिङ, ब्रान्डिङ, लेबलिङ, प्याकेजिङ प्रमोसनमा राज्यले सपोट गर्नु पर्यो। विश्वका २०५ वटा देशमा हाम्रो सामानले हाम्रो देशको पहिचान राख्छ,’ उनले भने।

यो विषयलाई राज्यले बुद्धिजीवी व्यक्ति सरोकारवाला निकाय मिडिया पत्रकार सबैले चासो राखेपछि नेपाली बजारले विश्व बजार पाउन सक्छ। पुरानै शैलिबाट उत्पादन कच्चा पदार्थ बाहिरबाट आयत गर्नुपर्ने अवस्था छ। आवश्यक सामाग्री आयात गर्नु पर्ने कारण ठूलाे परिमाणमा सामग्री उत्पादन हुन नसक्ने समस्या छ। पुरानै प्रविधिका कारण राज्यले नीति नियम परिमार्जन गर्नु पर्ने अवस्था रहेको उनको भनाइ छ। ढिलासुस्ती निर्णय हुने कारण चुस्तदुरुस्त नभएको कारण पनि नयाँ उधमीमा आकर्षण न भएको देखिन्छ।

‘१० देखि ११ लाख मान्छेहरु लाभान्वित भएको यस व्यवसायमा ४२/४३ बिधा छन् यसमा नेपालको १०/११ लाख मान्छे प्रत्यक्ष अप्रत्यक्ष रुपमा आवद्ध छन्। देशको कला संस्कृती मौलिकता जोगाइराख्ने क्षेत्र भएको कारण यो क्षेत्रलाई निरन्तरता दिने पहिचान दिलाउने उदेश्यले म निरन्तर लागिरहेको छु,’ उनले भने, ‘यसलाई हामी सबैले फोकस गर्नुपर्छ। नेपाल सरकारले हस्तकला विभाग खडा गरेर नेपाल हस्तकला बोर्ड स्थापना गर्न सके सहज रुपमा हस्तकला सम्बन्धि निर्णय गर्न सजिलो हुन्छ।’

संस्कृती मौलिकता जोगाइराख्ने क्षेत्र भएको कारण यो क्षेत्रलाई निरन्तरता दिने पहिचान दिलाउने उदेश्यले निरन्तर लागेको उनको भनाइ छ। हस्तकला विभाग खडा गरेर नेपाल हस्तकला बोर्ड स्थापना गर्न सके सहज रुपमा हस्तकला सम्बन्धि निर्णय गर्न सजिलो हुने उनको विश्वास छ।