काठमाडौँको न्यूनतम तापक्रम ७ डिग्रीमा झर्‍यो

काठमाडौँ। हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नभएको र पहाडी भेगमा आंशिक बदली रही अन्य स्थानमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भेगमा आंशिक बदली तथा बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ।

राति भने देशभर मौसम सामान्यतया सफा रहने बुलेटिनमा उल्लेख गरिएको छ। महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।

जसमा भनिएको छ : तराई भूभागमा हुस्सु/कुहिरो लाग्ने तथा देशका अधिकांश भूभागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन हुन अनुरोध छ।