काठमाडौँ। सञ्चालन कार्यविधि तयार नहुँदा एक अर्ब ११ करोड रुपियाँको लागतमा बुटवल मण्डपमा निर्माण भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र प्रयोगविहीन बनेको छ । बुटवल उपमहानगरपालिका–१०, रामनगरमा निर्माण गरिएको सो केन्द्रको गत भदौ ११ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका थिए।
ठूला गोष्ठी, बैठक, सम्मेलनलगायतका कार्यक्रमको आयोजना गर्ने उद्देश्यका लागि केन्द्र निर्माण गरिएको हो । बुटवल सभाहल तथा प्रदर्शनी केन्द्र निर्माण आयोजनाका प्रमुख धर्मेन्द्र पन्थीले भने, “सञ्चालन कार्यविधि तयार नहुँदा सम्मेलन केन्द्रलाई बन्द राख्नु परेको छ ।” सहरी विकास तथा भवन निर्माण विभागले सञ्चालन कार्यविधि तयार गरेर सङ्घीय सहरी विकास मन्त्रालयमा पठाएको थियो । कार्यविधि मन्त्रिपरिषद्बाट स्वीकृत हुन बाँकी छ ।
सरकारले २०६५ सालमा सभाहल निर्माण गर्ने निर्णय गरेको थियो । सोअनुरूप २०७१ माघ १५ गते निर्माण कम्पनीसँग ठेक्का सम्झौता गरिएको थियो । निर्माण सुरु हुन नपाउँदै २०७२ सालको भूकम्प, त्यसपछिको नाकाबन्दी, मधेश आन्दोलन र कोभिड–१९ को महामारीका कारण सम्मेलन केन्द्रको निर्माण कार्यमा ढिलाइ भएको थियो । केन्द्र भवन निकै आकर्षक छ । बुटवल मण्डपमा बनेका सबै संरचना आकाशबाट हेर्दा चन्द्रसूर्यको आकारमा तयार पारिएको छ ।
कार्यविधिमा केन्द्रमा रहेका पाँच सय जना क्षमताको सभाहल नगरपालिका वा गाउँपालिकाले सञ्चालन गर्न पाउने र उपमहानगरपालिकाले सात सय जना क्षमताको र महानगरपालिकाले एक हजार सिट वा सोभन्दा बढी क्षमताको सभाहल सञ्चालन गर्न पाउने प्रस्ताव गरिएको छ ।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले केन्द्रलाई उपमहानगरपालिकाले जिम्मा पाए आफूहरूले सञ्चालन गर्न सक्ने बताए । सम्मेलन केन्द्रसँगै एक सय जनाको क्षमता भएका दुईवटा मल्टिपर्पोज भवन छन् । सर्भिस ब्लक दुईवटा छन् । क्यान्टिन, ग्रिन हाउस, कर्मचारी आवास भवन र सुरक्षा गार्ड भवन पनि निर्माण गरिएको छ । यसको मासिक सञ्चालन खर्च १३ लाख रुपियाँ हुने अनुमान गरिएको छ ।


















