काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज रातिदेखि वर्षाको सम्भावना रहेको जनाएको छ । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहे पनि आज साँझबाट देशको सुदूरपश्चिम हुँदै पश्चिमी निम्न चापीय प्रणाली नेपाल प्रवेश गर्ने देखिन्छ । दिनभर समान्यतया मौसम सफा रहेतापनि सुदूरपश्चिम र कर्णाली प्रदेशका साथै लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ । हिमाली भेगमा भने मंललबारपछि एक हप्तासम्म हिमपातको सम्भावना रहेको मौसमविद् विनोद पोखरेलले जानकारी दिए ।
यसैगरी विभागले यसपालिको हिउँदमा ३० वर्ष यताकै सबैभन्दा कम वर्षा भएको जनाएको छ । विभागको तथ्याङ्कअनुसार सन् १९९१ पछि यो वर्षको हिउँदमा सबैभन्दा कम पानी परेको हो । सन् १९९१ देखि २०२० सम्मको डिसेम्बर १ देखि जनवरी १८ सम्ममा औसतमा १२ दशलमव ६ मिलिमिटर पानी परेको थियो । तर, यसपालिको डिसेम्बर १ देखि जनवरी १८ सम्ममा ०.१ मिलिमिटर मात्रै पानी परेको मौसम विज्ञान विभागको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
अघिल्लो हिउँद अर्थात् सन् २०२१ को डिसेम्बर १ देखि २०२२ को जनवरी १८ सम्ममा २७.१ मिलिमिटर पानी परेको थियो । नेपालमा मङ्सिर १५ देखि फागुन १५ गतेसम्मको समयलाई हिउँदयाम मान्ने गरिएको र यसवर्ष समुद्रको तापक्रम औसतभन्दा कम भएकाले पश्चिमी वायु कमजोर भई पानी कम परेको जलवायु विज्ञ धर्मराज उप्रेतीले जानकारी दिए ।


















