काठमाडौं ८ जेठ । सामाजिक सञ्जालमार्फत समाजसेवी गिभाना मगरले जथाभावि गाली गरेको बिरोधमा नर्सहरु आन्दोलनमा उत्रिएका छन् । उनीहरुले सोमवार बिहान माइतीघर मण्डलामा प्रर्दशन नै गरेका थिए ।
अस्पतालमा भर्ना गरिएका बिरामीलाई २ बजे दिनु पर्ने औषधि ४ बजे दिएको बिरोधमा गिभानाले सामाजिक सञ्जाल टिकटकमार्फत नर्सप्रति आक्रोश व्यक्त गरेकी थिइन् । सोही विरोधमा नर्सहरु माइतीघर मण्डलामा विरोधमा उत्रिएका हुन् । प्रदर्शनमा सहभागि विर अस्पतालका स्टाफ नर्स मनिषा घर्ति मगरले सामाजिक सञ्जालमार्फत गिभानाले गरेको गालीका कारण पेशामाथि दाग लागेका दाबी गरिन् । गिभनाले अनुमति बिना बिरामीको फोटो र भिडियो सामाजिक सञ्जालमा राखेको हुँदा उनलाई कानूनी कारबाही हुनु पर्ने स्टाफ नर्स मनिषाको भनाई छ ।
उनले भनिन्,‘ अनुमति विना भिडियो र फोटो राख्न पाइँदैन । त्यस्तो गतिविधिमा संलग्न विरुद्ध एक बर्ष कैद र १० हजार जरिवाना हुने व्यवस्था छ । गिभनाले गरेको क्रियाकलापले हाम्रो ‘प्रोफेसन’माथि दाग लागेको छ । उनी विरुद्ध कारबाही होस् ।’
प्रदर्शनमा सहभागि ग्रायान्डी अस्पतालका स्टाफ नर्स राब्या मल्लले गिभानाले सञ्चालन गरेको टिकटक आईडि तुरुन्त बन्द गरिनु पर्ने बताइन् । नर्सलाई गाली गरेको दाबी गर्दै गिभानाको टिकटक आइडी बन्द गरिनु पर्ने उनको माग छ ।


















