काठमाडौं, जेठ १८ । चुरे तथा वन जंगल संरक्षण अभियानले पर्सा जिल्लाको सिर्सिया नदीलाई प्रदूषण र अपहरण मुक्त गराउनका लागि धर्ना दिएका छन् ।
सिर्सिया नदीमा भइआएको अतिक्रमण तथा प्रदुषणले सो वरिपरिका जनता आक्रान्त बनेको र जैविक तथा वनस्पति लगायत अन्य प्रजातिमा गम्भीर असर पारेको भन्दै अभियानले सरकार लगायत सरोकारवाला निकायको ध्यानाकर्षण गराउन माइतीघर मण्डलामा धर्ना दिदैं प्रदर्शन गरेको हो ।
उनीहरु सिर्सिया नदीको बारेमा सबैको ध्यानाकर्षण गराउन पर्साबाट ११ दिने पैदल यात्रा पूरा गरेर काठमाडौं आइपुगेका हुन् ।
चुरे तथा वन जंगल संरक्षण अभियानका अभियन्ता संघर्ष नेपालीका अनुसार आफ्नो मागहरु छिटो भन्दा छिटो सम्बोधन नभए अनिश्चितकालीन धर्नामा बस्न बाध्य हुने बताए ।
‘उद्योगहरु स्थापना गर्दैगर्दा वातावरण अनुकुलन हुने गरी प्रभाव न्यूनीकरणका उपाय सहित स्वीकृति प्राप्त गरेको कारण सो आधारमा ती उद्योग फिल्टर जडान गर्ने लगायत अन्य व्यवस्था मिलाएको हुनुपर्छ । खर्च कम होस् भनेर ठगी गर्ने कतिपय उद्योगलाई कारवाही गर्न सरकारले अकर्मण्यता देखाउँदा नै प्रदूषणको मात्रामा बढेर गएको छ । हाम्रा मागहरुलाई गम्भीरताका साथ अपनत्व ग्रहण हुनेगरी नेपाल सरकार सम्बोधन गरे सबैको हित हुनेछ सम्बोधन नभए अनिश्चितकालीन धर्नामा बस्न बाध्य हुने छौं । ’
उनले वर्षौदेखि हुलास आल्मुनियमले कास्टिक सोडा, सल्फ्युरिक एसिड, नाइट्रिक एसिड, अमोनिया, केमडाइट जस्ता हानीकारक रसायनहरु सोझै खोलामा मिसाउँदै नदीमा प्रदूषण बढाउने काम भइरहेको बताए ।
बाँकी अन्य उद्योगहरु समेत केमिकलयुक्त पानी खोलामा मिसाउँदै आए जसको कारण पानी दूर्गन्धित बनेर रोगहरु फैलिनेक्रम तीब्र भएको र जलचर, मानिस अनेकन समस्या भोग्दैआएको नेपालीको भनाइ छ ।


















