काठमाडौं ,जेठ २६ । बृहत् नागरिक आन्दोलनले, भूटानी शरणार्थी प्रकरण लगायतका विषयमा गृहमन्त्रीको ध्यानाकर्षण गराएको छ ।
गृहमन्त्रालयमा पुगेर आन्दोलनले, नक्कली भुटानी शरणार्थी प्रकरणले भ्रष्टाचार मुक्त शासन व्यवस्था परिकल्पना गर्न ध्यान दिन गृहमन्त्रीको ध्यानाकर्षण गराएको हो ।
ध्यानाकर्षण पत्रमार्फत नागरिक आन्दोलनले हाल चलिरहेको अनुसन्धान र अभियोजन सफल बनाउन कम्तिमा राजनीतिक दलका शीर्षस्थ र कमचारीतन्त्रका उच्च पदस्थहरूको संगठित जालो भत्काउन सुझाव दिएको छ ।
अत्यावश्यक राज्य विरुद्धको अपराधको केन्द्रमा सामान्य अपराधी होइन सार्वजनिक ओहदाकै व्यक्तिहरूको स्वार्थ गहिरो रहेको भन्दै आन्दोलनले, नक्कली भुटानी शरणार्थी प्रकरणले यो तथ्य प्रमाणित गरेको दाबी गरेको छ ।
बृहत् नागरिक आन्दोलनले सरकारलाई चार प्रश्नको जवाफ तत्काल दिन समेत भनेको छ ।
१. नक्कली भूटानी शरणार्थी प्रकरणको छानविन प्रारम्भमै शंकास्पद तरिकारले दस दिन किन अवरुद्ध भयो ? यसबीचमा जे जस्तो संगठित र राजनीतिक हस्तक्षेप भयो यसबारे सरकारको तर्फबाट सार्वजनिक जवाफ तत्कालै चाहियो । अन्यथा, सरकार पनि यसमा संलग्न रहेको अर्थ लाग्ने छ ।
२. एकथरीको आशंका नेपाल प्रहरीकै उच्च पदस्थले छानविनलाई प्रभावित गरिरहेको छ अर्कोथरीको आशंका यसमा राजनीति दलको शीर्षस्थकै संलग्नता छ अनुसन्धान र अभियोजनलाई स्वतन्त्र तरिकाले अघि बढाउन पदीय मर्यादामा बसेका व्यक्तिले बढी प्रभावित गर्छन् । विशेष छानविन गर्दै आवश्यक परे पदमा बसेका व्यक्तिको चलखेल रहे तिनलाई बर्खास्त गर्न सरकारले के कस्तो पहल गरिरहेको छ ?
३. राष्ट्रको छवि बिगार्ने यस्तो प्रकरणमा स्वभाविक रुपमा कम उजुरी पर्छ छानविनलाई अबरुद्ध हुन नदिन उजुरीको संख्या बढाउन विशेष पहल चाहिन्छ । यसतर्फ सरकारले के कस्तो ठोस कार्य गरिरहेको छ, ताकि अनुसन्धान अबरुद्ध नहोस् ?
४. अनुसन्धानलाई बलियो बनाउन नगद प्रवाहको छानबिन चित्तबुझ्दो तरिकाले भएको देखिएन । यस्तो किन भइरहेको छ ? यस्तो राष्ट्रिय महत्वको सवालमा सम्पत्ति शुद्धिकरण विभागले जिम्मेबार भएर जसरी काम गर्नु पर्ने हो त्यो किन भइरहेको छैन ? यसतर्फ सरकारले के गर्दैछ ?
भ्रष्टाचार निस्तेज गर्न राज्यकोषको हिसाब माग्ने कार्यमा जनता अब पनि चुप लागेर बस्न सक्दैनन् । यस प्रकरणमा संलग्न उच्चपदस्थ अभियुक्तहरू दोषी ठहर भए कुनै हालतमा उन्मुक्ति दिन मिल्दैन । त्यसैले नेपाल सरकारले तत्काल यी प्रश्नहरूको सार्वजनिक जवाफ दिओस् अन्यथा, भ्रष्टाचार विरुद्ध चौतर्फी दबाब दिन बृहत् नागरिक आन्दोलनले सशक्त कार्यक्रमको तयारी गर्ने छ ।


















