धनगढी , जेठ ३२ । नेपाललाई जातीय भेदभावमुक्त राष्ट्र घोषणा गरेको दिनको अवसरमा जेठ २१ गते आइतबार बैतडीको दशरथचन्द नगरपालिकामा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा मेयर, उपमेयर, वडा अध्यक्षहरुसँगै प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख (डिएसपी), दलित अधिकारकर्मी, मानव अधिकारकर्मी लगायतको सहभागीता रहेको थियो ।
अन्तरक्रिया चलिरहेका बेला सोही कार्यपालिका सदस्य प्रेम दयालले प्रश्न उठाए, ‘अहिलेको अवस्थामा पनि हाम्रै नगरपालिकामा जातीय विभेद भइरहेको छ, यसरी त कहिले हुन्छ र छुवाछुत अन्त्य ?’
दयालले कुनै व्यक्ति विशेषलाई तोकेर यस्तो प्रश्न उठाएका थिएनन् सम्रग नगरपालिकाको अवस्था र आफ्नो पीडा सुनाइरहेको थिए । तर, दयालको त्यो प्रश्नले उपमेयर कौशिला चन्दकोलाइ छोयो ,उनले कुर्सीबाट उठेर आक्रोश पोखिन् र उनले भनिन् ‘म ठकुरीकी छोरी हुँ, मैले बाहिर पानीसमेत पिउँन्न । मेरो इच्छा हो अरुले छोएको खाऊ या नखाऊ।’
देश छुवाछुतमुक्त भएको दिनको सम्झनामा खुसीयाली मनाइरहेका बेला जनप्रतिनिधिबाट अर्को जातीय विभेद भएको महसुस गरेका त्यहाँ सहभागी दलित अधिकारकर्मी, मानव अधिकारकर्मी र उपमेयरको पक्षबीच भनाभन भयो ।
पछि सोही विषयलाई लिएर प्रेम दयाललगायत दलित अधिकारकर्मीको टोली मंगलबार जिल्ला प्रशासन कार्यालय पुगेको थियो । त्यहाँ छलफल भएपछि प्रजिअ सुरेश पन्थीलाई २०८०\०२ \३१ (बुधबार) उपमेयरलाई कारबाहीको मागसहित ज्ञापनपत्र बुझाउने तयारी थियो । तर त्यो सम्भव नभएपछि २०८० \०२ \३२ विहिबार प्रजिअलाई ज्ञापनपत्र बुझाउने दलित अधिकारकर्मीहरुको तयारी रहेको छ ।
यता सिडिओ पन्थीले दुबै पक्षलाई राखेर छलफल गरिने बताए ।


















