कवितामा समावेशी चिन्तन विकास हुदैँ गएको सरोकारवालाहरुको भनाई

काठमाडौं, असार ८ । नेपाल प्रज्ञा–प्रतिष्ठानको ‘राष्ट्रिय कविता महोत्सव र समावेशी चिन्तनको थालनी’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

प्रतिष्ठानको ६६ वार्षिकोत्सवको उपलक्ष्यमा शुक्रबार आयोजित अन्र्तक्रियामा सहभागिहरुले नेपाली कवीहरुमा समावेशी चिन्तनको विकास हुदै गएको बताएका छन् ।

लेखक तथा समालोचक भोगीराज चाम्लिङले प्रतिष्ठानले पूर्ण भाषिक समानताको व्यवस्थालाई कार्यान्वयन गर्न थालेको बताए । संवैधानिक परिभाषामा सुनिश्चित गरेको पूर्ण भाषिक समानताको व्यवस्थालाई प्रज्ञा–प्रतिष्ठान मार्फत् कार्यान्वयन गर्न राष्ट्रिय कविता महोत्सव–२०८०’ का रुपमा सुरुवात भएको उनको भनाई छ ।

उनले भने,‘अब संवैधानिक परिभाषामा नेपालका सबै भाषाहरु समान हुनु र यो परिभाषाले पूर्ण भाषिक समानताको व्यवस्था सुनिश्चित गरेको छ । अब यो व्यवस्थालाई प्रज्ञा–प्रतिष्ठान मार्फत् कार्यान्वयन गर्नुपर्ने छ जुन राष्ट्रिय कविता महोत्सव–२०८०’ का रुपमा सुरुवात भएको छ ।’

उनले नेपाललाई भावनात्मक रुपमा नजोडेसम्म नेपाली राष्ट्रियता बलियो नहुने भन्दै यसप्रकारको महोत्सवले नेपाललाई भावनात्मक रुपमा जोड्न मदत गर्ने विश्वास व्यक्त गरे ।

उनले भने, ‘यसप्रकारको महोत्सवले नेपाललाई भावनात्मक रुपमा जोड्न मदत गर्ने छ । भावनात्मक एकतालाई यसरी नै पूरा गर्दै जाने हो । गाली मात्रै गरेर अथवा ताली मात्रै बजाएर भावनात्मक एकता पूरा हुँदैन । नेपाललाई भावनात्मक रुपमा नजोडेसम्म नेपाली राष्ट्रियता बलियो बन्न सक्दैन ।’

यो महोत्सवससम्बन्धी नेपाल प्रज्ञा–प्रतिष्ठानले यसपटक (२०८०) देखि कविता महोत्सव प्रतियोगितात्मक परम्पराको सट्टा समावेशी सहभागितामूलक बनाइएको छ ।

कविता नेपालका सबै भाषा ÷ मातृभाषामा लेखेर सहभागिता जनाउन सकिने प्रतिष्ठानले जानकारी दिएको छ । कविता महोत्सवलाई प्रतियोगिताको सट्टा समावेशी सहभागितामूलक बनाउने र सबै भाषा ÷ मातृभाषालाई सँगै सहभागी गराउने यी दुई व्यवस्थाले लगभग ६ दशकमा यसपालिको कविता महोत्सव विशेष बन्न पुगेको छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठानले ५८ वर्षअघि २०२२ सालदेखि राष्ट्रिय कविता महोत्सव गर्दै आइरहेको छ ।