विद्यार्थी बाहिरिने प्रवृतिप्रति विश्वविद्यालयहरु गम्भीर बन्नुपर्छ : प्रधानमन्त्री दाहाल

काठमाडौं, असार २१ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उच्च शिक्षाका लागि वर्षेनी लाखौँ विद्यार्थी बाहिरिने प्रवृति रोक्न विश्वविद्यालयहरुले आफ्नो औचित्य पुष्टि गर्न गम्भीर भएर समीक्षा गर्न जरुरी भएको बताएका छन् ।

बिहीबार दिउँसो पोखरा विश्वविद्यालयको २३ औं सिनेट बैठकलाई सम्बोधन गर्दै उनले विद्यार्थीको अस्वाभाविक विदेश आकर्षणलाई नेपालका विश्वविद्यालयहरूले गम्भीर समीक्षा गर्न जरुरी रहेको बताए ।
‘पछिल्लो समय नेपाली विद्यार्थीहरूमा विदेशमा अध्यययन गर्न जाने अस्वाभाविक आकर्षण बढेको छ । यस विषयलाई नेपालका विश्वविद्यालयहरूले गम्भीर समीक्षा गर्न जरुरी छ ।’

देशको आवश्यकता र विद्यार्थीहरूको मागअनुसार समय सान्दर्भिक पाठ्यक्रमहरू निर्माण र कार्यान्वयनमा जोड दिनुपर्ने बताएका उनले विश्वविद्यालयहरूले एकेडेमिक क्यालेन्डर बनाएर दृढतापूर्वक लागू गर्नुपर्नेमा जोड दिएका छन् ।

‘अध्ययनका लागि विद्यार्थी विदेशिने परिस्थिति रोक्न विश्वविद्यालयहरूले एकेडेमिक क्यालेन्डर बनाई विद्यार्थी भर्ना,पठनपाठन र परीक्षा सञ्चालन समयमै हुने एवं तोकिएको शैक्षिक अवधिमा विद्यार्थीहरूको अध्ययन पूरा हुने व्यवस्था गरिनुपर्दछ ।’

त्यस्तै, दाहालले संघीय शिक्षा ऐन छिटो पारित गर्न सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको जिकिर गरेका छन् ।