दुई ट्रक एकआपसमा ठोक्किँदा ३ जना घाइते

काठमाडौं, असार २३ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिकामा दुई ट्रक एकआपसमा ठोक्किँदा ३ जना घाइते भएका छन् ।

गएराति हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना ६ ख ६६६७ नम्बरको ट्रक र विपरीत दिशा तर्फबाट आउँदै गरेको ना ६ ख ६३१ नम्बरको ट्रक एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दुर्घटनामा ट्रकका चालकहरु चितवन राप्ती–३ बस्ने अन्दाजी ३५ वर्षीय विवेक तामाङ र मकवानपुरको मनहरी–३ बस्ने अन्दाजी ३२ वर्षीय अर्जुन कुमार प्रजा घाइते भएका छन् ।

दुर्घटनामा अर्का एक जनापनि घाइते भएका छन् । उनीहरुलाई उपचारको लागि भरतपुर पठाइएको छ ।
दुर्घटनापछि दुवै ट्रकमा आगलागी भएको छ । अहिले हेटौंडा उपमहानगरपालिकाको २ वटा दमकलले आगो निभाउने कार्य गरिरहेको छ ।