काठमाडौं, असार २८ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले, रोष्टममा उभिएर बोल्नै अप्ठ्यारो लागेको बताएका छन् ।
विहीबार राष्ट्रिय सभाको बैठकमा मन्त्रालयगत छलफलपछि उठेका प्रश्नको जवाफ दिने क्रममा उनले गणतन्त्र स्थापनाको १५ वर्षमा पनि विकासको राष्ट्रिय मोडालिटी नबनेकोप्रति गम्भीर असन्तुष्टि पोखे ।
‘बोल बोल मछली मुखभरी पानी भने झै, आज यहाँ उभिएर बोल्न अप्ठयारो लागेको छ । संघीय लोकतान्त्रीक गणतन्त्र आएको यो १५ औँ वर्षमा पनि हामीले विकासको राष्ट्रिय मोडालिटी निमार्ण गर्न नसक्दा आज हामीले दुःख पाईरहेका छौं । ’ उनले भने ‘संघको मन्त्रालयबाट छुट्याईएको दार्चुलाको ५ लाख र ताप्लेजुङको ५ लाख बजेटलाई कसरी टेन्डर गरेर कार्यन्वयन गर्ने होला ?’
संस्कृति र प्राकृतिक सम्पदाको हिसावले सबैभन्दामाथि रहेको देश चरित्रका हिसावले विश्वकै वामपुड्के जस्तो देखिएको उनको भनाई छ ।
उनले भने ‘प्रकृति र संस्कृतिमा सबैभन्दा माथि रहको देशमा छौँ तर हाम्रो व्यवहार र चरित्रमा हामी संंसारकै बामपुड्के जस्तो देखिएका छौं । ’
मरेर गएपछि आउने पुस्तालाई के सम्पदा छोडेर जाने आजैबाट सोच्न जरुरी रहेको बताएका उनले भोली ढिली पछुताउनुको कुनै अर्थ नहुने धारणा राखे ।
२० वर्षपछि पर्यटकहरुले तेलको गन्ध नआउने, गाडी हर्न नबज्ने, मोवाईलको टावर टिप्न नसकोस, त्यस्ता ठाउँहरु खोज्ने भन्दै उनले अहिले विकासको नाममा भै रहेको मनपरी तर्फ असन्तुष्टि जनाए ।


















